प्रधानमन्त्री ओलीले संसद्को अपमान गरे : गगन थापा

फाईल तस्विर !!

काठमाडौं,चैत,१०-नेपाली काँग्रेसका सांसद गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को अपमान गरेको आरोप लगाउनुभयो ।

मंगलबार संघीय प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका उहाँले प्रधानमन्त्रीले आफूमाथि वर्षिने प्रश्न छल्न खोजेको आरोप लगाउनु भएको हो ।

प्रधानमन्त्री ओलीले काम गर्न दिएन भनेर हल्लामात्रै मच्चाएको उहाँको भनाइ छ।उहाँले भन्नुभयो, ‘जति दिन यो सरकार रहन्छ, प्रधानमन्त्रीलाई यो संसदप्रति तिरस्कार छ।’आफ्नो अपमानको बदला जनताले लिने पनि उहाँले बताउनुभयो।

‘कहिले प्रश्न छल्न हठात् संसद बैठक स्थगित गर्ने, कहिले पार्टीभित्रको विरोधी तह लगाउन संसद भंग गर्ने’, संसदमा थापाले भन्नुभयो, ‘अनि अहिले प्रतिनिधि सभा भंग गर्ने सनक सही थियो भन्ने स्थापित गराउन संसदलाई कामविहीन बनाउने प्रपञ्च गर्ने?

सांसद् थापाले यो विधेयक अधिवेशन भएकाले आफूहरु काम गर्न तयार रहेको स्पष्ट पार्नुभयो।एसिड आक्रमणकारीलाई नियन्त्रण गर्ने कानुन बनाउन दिएन भनेर हल्ला गर्ने प्रधानमन्त्रीले संसदलाई एउटा पनि विधेयक नदिएकोमा प्रश्न गर्नुभयो।

उहाँले विधेयकलाई काम गर्न चाहिने राष्ट्रियसभाको बैठक पनि नबोलाएकोमा रोष पोख्नुभयो।‘हामी स्पष्ट छौँ, जतिदिन यो सरकार रहन्छ, संसदको तिरस्कार र अपमान र उपेक्षा गर्ने क्रम बढ्दै जान्छ किनकि प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनु छ’, सांसद थापाले भन्नुभयो।

आआफ्नो ठाउँबाट डटेर संसदको गरिमा कायम राख्ने बताउँदै उहाँले बाँकी काम जनताको भएको बताउनुभयो।‘यथोचित समयमा जनताले यसको हिसाबकिताब गर्नेछन्’, उहाँले थप्नुभयो, ‘किनकि यो संसद् र सांसदको अपमान हो।’

यो लोगो लगाउने सांसदहरुको मात्र तिरस्कार र अपमान नभई संसद बनाउने जनताकै अपमान भएको बताउनुभयो ।