मापदण्ड र उम्मेदवार बाडफाडको अन्तिम कसरतमा

काठमाडौ,असोज,२१-

नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति लगाएतका केहि सानादलहरुको तालमेलबाट बनेको वाम गठबन्धन मापदण्ड र उम्मेदवार बाडफाडको अन्तिम कसरतमा जुटेको छ ।

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आजसम्म बाँडफाँड टुंग्याउन क्षेत्र बाँडफाँड समितिलाई निर्देशन दिएका छन् । समितिले आज सम्म क्षेत्र बाँडफाँडको काम टुङग्याउने जनाएको छ ।

अन्य दलले लिने सिट र क्षेत्र टुंग्याएपछि एमाले र माओवादी केन्द्रले लिने ६०\४० सिटको पनि टुंगो लाग्ने समितिका सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

प्रदेश र केन्द्रको क्षेत्र कसले लिने भन्ने टुंगो लगाउन ०७० सालको मत परिणाम र ०७४ सालको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको मत परिणामलाई मुख्य आधार मान्ने उहाँले बताउनुभयो ।

हरेक जिल्लामा केन्द्र र प्रदेशमध्ये दुवै दलले कम्तीमा एउटा सिट पाउने समितिमा समझदारी बनेको छ । यो समझदारीअनुसार एउटा दलले केन्द्रको सिट लिए अर्को दलले कम्तीमा प्रदेशको एउटा सिट पाउने छ ।

पछिल्लो स्थानीय तहको निर्वाचनमा अधिकांश जिल्ला एमालेले जितेको छ, माओवादी धेरै पछाडि छ । तर, ६०÷४० को अनुपात मिलाउनुपर्ने भएकाले हारेका जिल्लामा पनि माओवादीले उम्मेदवारी पाउने भएको छ ।

यसैबीच, नयाँ शक्ति, अन्य पार्टी र समूहलाई कति सिट दिने विषय शीर्ष नेता रहेको एकता संयोजन समितिले नै अन्तिम टुंगो लगाउने भएको छ ।

यता
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिदै गएपछि दलहरु आन्तरिक गृहकार्यमा जुटेका छन् । नेपाली काँग्रेसको नेतृत्वमा बनेको ६ दलको बृहत लोकतान्तिक गठबन्धनले निर्वाचनलाई आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा जुटेको छ ।

लोकतान्त्रिक गठबन्धनले काँग्रेस नेता विमलेन्द्र निधीको संयोजकत्वमा निर्माण गरेको कार्यदलले आजदेखि आफ्नो काम अगाडि बढाउने भएको छ ।

लोकतान्त्रीक गठबन्धनबाट ६ दलीय कार्यदलमा काँग्रेसबाट नेताहरु विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र डा मीनेन्द्र रिजाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बुद्धिमान तामाङ, राप्रपा (प्रजातान्त्रिक) बाट विक्रम पाण्डे, संघीय समाजवादी फोरम नेपालबाट रामसहाय यादव, राष्ट्रिय जनता पार्टी नेपालबाट सर्वेन्द्रनाथ शुक्ल र नेपाल लोकतान्त्रिक फोरमबाट रामजनम चौधरी रहेका छन् ।

कांग्रेसले आगामी चुनावकालागि घोषणापत्र निर्माणकालागि तयारी तिव्र पारेको जनाएको छ । अन्य सानादलहरु पनि निर्वाचनलाई आफ्नो पक्षमा पार्न आन्तरिक गृहकार्यमा व्यस्त छन् ।