म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर विजयी

काठमाडौं, मंसिर, २८-

इङ्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर विजयी भएका छन् । तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले स्वान्सी सिटीलाई ४-० ले हरायो ।

म्यान सिटीलाई फराकिलो अन्तरमा विजयी गराउन डेभिड सिल्भाले २ गोल गरेभने सर्जीयो अगुएरो र केभिन डे ब्रायनले एक एक गोल गरे । गएराति भएको अर्को खेलमा रोमेलु लुकाकुले निर्णायक गोल गरेपछि म्यानचेस्टर युनाईटेडले बर्नमाउथमाथि १-० को जित निकाल्यो ।

यसैगरी टोटनह्याम हट्सपरले ब्राईटनलाई २-० ले हराउँदा एभर्टनले न्युकासल युनाईटेडलाई १-० ले तथा लेष्टर सिटीले साउथह्याम्पटनलाई ४-१ ले पराजित गर्‍यो । गएराती आर्सनललाई वेष्ट ह्याम युनाईटेडले गोलरहित बराबरीमा रोक्दा लिभरपुल र वेष्ट ब्रोमले पनि गोलरहित बराबरीमै चित्त बुझाएका छन् ।

गएरातीका खेलहरु पछि प्रिमियर लिगको अंक तालिकामा १७ खेलबाट ४९ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ । समान खेलबाट ३८ अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा छ भने ३५ अंक जोडेको चेल्सी तेस्रो स्थानमा रहेको छ ।(एजेन्सी)