विश्वका ५७ मुस्लिम देशहरुको आक्रोशः ट्रम्पको निर्णय ‘गैरकानुनी’ भएको ठहर

काठमाडौं, मंसिर,२८-

विश्वका ५७ मुस्लिम देशले इजरायलको अधिनमा रहेको पूर्वी जेरुसेलमलाई प्यालेस्टाइनको राजधानीको रुपमा मान्यता दिन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् ।

अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन (ओआइसी)को आह्वानमा टर्कीको इस्तानबुलमा बसेको ५७ वटा इस्लामिक देशहरुको आपतकालीन भेलाले प्यालेस्टाइनको राजधानीको रुपमा नै जेरुसेलमलाई मान्यता दिन आह्वान गरेको हो ।

भेलाले अमेरिकाले इजरायलको राजधानीको रुपमा जेरुसेलमलाई मान्यता दिने निर्णयप्रति आपत्ति जनाएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसलेमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिने निर्णयले आक्रोस निम्त्याएको भेलाको ठहर छ ।

भेलापछि जारी वक्तव्यमा अमेरिकी राष्ट्रपति ट्रम्पले जानाजान मध्यपूर्वमा शान्ति प्रयासलाई कम आँकेको आरोप लगाउनुका साथै उनको कदमले आतंकवादलाई बढावा दिने उल्लेख गरिएको छ ।

भेलालाई सम्बोधन गर्दै प्यालेस्टिनी नेता महमुद अब्बासले राष्ट्रपति ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिने निर्णय गरेबाट शान्ति वार्ताहरुमा अमेरिकीहरुले सहजकर्ताको भूमिका निर्वाह गर्न नसक्ने प्रष्ट पारे ।

उनले अब संयुक्त राष्ट्रसंघले शान्ति प्रक्रियाको नेतृत्व लिनुपर्ने बताए । अमेरिकाको निर्णयसँगै अमेरिकाले मध्यस्थकर्ताको रुपमा आफ्नो क्षमता गुमाउने र शान्ति प्रक्रियामा आफ्नो भूमिकाबाट बाहिरिने बाटो रोजेको दाबी गरे ।

अमेरिकाको भूमिका आफूहरुले स्वीकार गर्न नसक्ने भन्दै उनले अमेरिकीहरु पुरै इजरायलको पक्षमा लागेको आरोप लगाए । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनले विश्वका अन्य देशलाई जेरुसेलमको मुद्दामा अमेरिकाले डर–त्रास देखाइरहेको बताए ।

इस्लामिक मुलुकहरुको संगठन, ओआइसीको शिखर बैठकमा एर्दोआनले यसै महिनाको शुरुमा अमेरिकी राष्ट्रपति ट्रम्पले गरेको निर्णय ‘गैरकानुनी र उक्साउने खालको’ भएको टिप्पणी गरे ।(एजेन्सी)