रुकुम कांग्रेसका १९ जना कारबाहीमा

चुनावमा पार्टीलाई अन्तर्घात गरेको भनाई

नरेश खड्का,

दाङ,जेठ,२६-

चुनावमा असहयोग गरेको भन्दै रुकुम कांग्रेसका १९ जना कारबाही मा परेका छन् । गत वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तहको चुनावमा पार्टीलाई अन्तर्घात गरी असहयोग गरेको भन्दै कांग्रेस रुकुमले १९ जना नेता तथा कार्यकर्तालाई कारबाहीको तयारी थालेको छ ।

निर्वाचनमा पार्टीको निर्णय विपरित गएको र पार्टीले उठाएका उम्मेदवारलाई हराउन सक्रिय रहेको भन्दै कांग्रेसले जिल्ला सचिव, क्षेत्रीय सभापति, जिल्ला सदस्य सहित क्रियाशिल सदस्यहरुलाई स्पष्टिकरण समेत सोधेको छ ।

कांग्रेसले पार्टी विरोधी कार्यमा संलग्न कार्यकर्तालाई कारवाही गर्न ४ सदस्यीय अनुशासन विभाग गठन गरेको थियो । जिल्ला सदस्य भीमबहादुर डाँगीको संयोजकत्वमा रहेको विभागले जिल्ला सचिव जनककुमार चन्द, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति सुरतजंग मल्लसहित १९ जनालाई स्पष्टिकरण सोधेको हो ।

पाटी सचिव जनक चन्दले बाफीकोट गाउँपालिको प्रमुखको उम्मेदवार जनक कुमार बाठालाई हराउन माओवादी केन्द्रसँग मिलेर वडा नम्बर १० कांग्रेसका वडा अध्यक्ष थलवीर खड्कालाई  हराएको, आर्थिक प्रलोभनमा परेर घात गरेको आरोप छ ।

त्यस्तै क्षेत्र नम्बर एकका सभापति सुरतजंग मल्लले मुसिकोट नगरपालिकाका मेयरका उम्मेद्वार महेन्द्र केसी र वडा नम्बर ५ का अध्यक्षका उम्मेदवार यज्ञ परियारलाई हराउन माओवादीसँग मिलेर पैसा खर्च गरी घात गरेको आरोप छ ।

जसको कारणले झण्डै ८० मतले मुसिकोटको मेयरमा पराजय भोगेको कांग्रेसको निष्र्कष छ । त्यसकारण पनि मल्ललाई कार्बाहीको लागी दवाव छ । कार्बाहीमा पर्ने यी दुई कांग्रेसको ठूलो पदका ब्यक्ति हुन् ।

त्यस्तै पूर्व क्षेत्र नम्बर दुइका क्षेत्रीय सभापति खम्बु मल्ल पनि स्पष्टीकरणमा परेका छन् । उनी चुनावको समयमा मौन बसेर असहयोग गरेको आरोप छ । अर्का कांग्रेसका पुराना नेता तथा पूर्व महाधिबेशन प्रतिनिधी उपेन्द्र मल्ल चुनाव प्रचारमा नगएर मौन बसेको आरोपमा स्पष्टीकरणमा परेका छन् ।

त्यस्तै कांग्रेसका क्रियाशिल सदस्य तथा अस्पताल विकास समिति रुकुमका अध्यक्ष शिव आचार्य पनि स्पष्टीकरणमा परेका छन् । उनले सामाजिक सञ्जालमा बेला बेला पार्टी नेतृत्वको बिरुद्धमा अभिब्यक्ति दिएको तथा चौरजहारी नगरपालिकाको मेयरका उम्मेदवार बलवीर गोसाइलाई हराउन मुख्य भुमिका खेलेको आरोप छ ।