जुम्लाको अर्गानिक स्याउले नेपालगञ्जमा बजार लिंदै

Image Not Foundनेपालगञ्ज,भदौ,१९-अर्गानिक मानिने भएकाले नेपालगञ्जमा अहिले जुम्लाको स्याउले राम्रो बजार लिएको छ ।नेपालगञ्जमा अहिले जुम्लाको स्याउ मात्रै विक्री भइरहेको छ । चीन र भारतको स्याउको बढी खपत हुने नेपालगन्जमा अहिले जुम्लाको स्याउ धेरै देखिन्छ ।

नेपालगञ्जका फलफूल व्यापारी अहिले जुम्लाको स्याउ विक्रीमा व्यस्त छन् । जुम्लामा मोटर बाटो पुगेकाले अहिले सडकबाटै स्याउ ल्याउँदा सस्तो पर्ने गरेको छ । अहिले शुरुआती चरण भएकाले दैनिक दुई–तीन ट्रक स्याउ आउने गरेको व्यापारी बताउँछन् ।

नेपालगञ्जस्थित गुरुद्वारा रोडमा रहेको नेपाल फलफूल साग सब्जीको थोक मण्डीमा स्याउ आउने गरेको छ । मण्डीबाट फुटकर विक्रेताले किनेर बजारमा विक्री गरिरहेका छन् ।     
     
नेपालगञ्ज बजारमा जुम्लाको स्याउ भर्खर आउन शुरु भएको हो । जुम्लाको स्याउसँगै नेपालगञ्ज बजारमा भारत र चीनको स्याउ पनि विक्री हुने गरेको छ । जुम्लाको स्याउले नेपालगञ्जमा राम्रो बजार लिएपछि जुम्लाका किसानलाई पनि राम्रो फाइदा पुगेको छ ।

नेपाल फलफूल सागसब्जी व्यवसायी सङ्घ नेपालगञ्जका सदस्य मेराइलाल साहुका अनुसार जुम्लाबाट अहिले एकै जातको स्याउलाई तीन वर्गमा विभाजित गरी नेपालगन्ज पठाउने गरिएको छ  ।    
     
नेपालगञ्ज आएका जुम्लाको स्याउ यहाँबाट बर्दिया र कैलालीसम्म पुर्‍याउने गरिएको छ । नेपालगञ्ज बजारमा अहिले जुम्लाको स्याउ १०० देखि १५० रुपैयाँ प्रतिकिलो विक्री हुने गरेको फलफूल व्यापारी मोहम्मद नसिमले बताए । जुम्लाको स्याउ स्वादिलो र अर्गानिक हुने भएकाले पाएसम्म स्याउ पारखीले जुम्ली स्याउ नै रोज्दछन् । रासस