रैथाने बाली संरक्षण गर्दै कर्णाली प्रदेश सरकार

Image Not Foundसुर्खेत,फाल्गुन,८-कर्णाली प्रदेश सरकारले रैथाने बालीको संरक्षण तथा प्रवर्द्धनमा उच्च प्राथमिकता दिएको छ।प्रदेश सरकारले शनिवार ‘कर्णाली प्रदेश दोस्रो रैथाने बाली संरक्षण तथा प्रवर्द्धन दिवस, २०७९’, मनाएको छ।

कर्णाली सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले २०७४ फागुन ६ गते कर्णालीलाई ‘अग्र्यानिक प्रदेश’ बनाउने निर्णय गरेको थियो। सोहीबमोजिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले त्यससँग सम्बन्धित विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।

मन्त्रालयले प्रांगारिक उत्पादनमा वृद्धि गर्न यहाँका रैथाने बाली फापर, कोदो, चिनो, कागुनो, मार्सी धान, सिमी, जौ, उवा, लट्टेलगायतको संरक्षण, प्रवर्द्धनका साथै प्रचार–प्रसारमा पनि जोड दिएको छ।

यसअनुरूप २०७८ फागुन ६ गतेदेखि कर्णाली प्रदेश रैथाने बाली संरक्षण तथा प्रवर्द्धन दिवस मनाउन शुरू गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले जानकारी दिनुभयो।

उक्त दिवसको अवसरमा चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जुम्लाले स्याउको चाना, ओखर, सिमी, दाल, मार्सी चामल, ऊनको टोपी, मफलरलगायत रैथाने उत्पादनको स्टल प्रदर्शनीमा राखेको थियो। रासस