राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान,भ्रमणका क्रममा केही विषयमा सम्झौता गरिने

फाईल तस्विर !!

काठमाडौं,चैत,९-राष्ट्रपति विद्यादेवी भण्डारी आज बङ्गलादेश प्रस्थान गर्नुभएको छ ।राष्ट्रपति भण्डारी दुईदिने राजकीय भ्रमणका लागि नेपाल वायु सेवा निगमको विशेष चार्टर विमानमार्फत बंगलादेश प्रस्थान गर्नुभएको हो ।

बंगलादेशी समकक्षी मोहमम्द अब्दुल हमिदको निमन्त्रणामा उहाँ बंगलादेश जानुभएको हो ।राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा नेपाल र बंगलादेशको बीचको पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौतालगायत चारवटा समझदारी पत्रमा हस्ताक्षर हुने जनाइएको छ ।

राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको शतवार्षिकी जन्मजयन्तीमा पनि सहभागी हुनु हुनेछ । हाल बंगलादेशमा रहमानकै छोरी शेख हसिना वाजेद प्रधानमन्त्री हुनुहुन्छ ।

राष्ट्रपति भण्डारीले सोही कार्यक्रममा नेपाल–बंगलादेश सम्बन्धको बारेमा प्रवचन पनि दिनुहुनेछ । भण्डारीले बंगलादेशी समकक्षी मोहमद अब्दुल हमिदसँग दुईपक्षीय विषयमा कुराकानी गर्ने र उहाँले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनुहुनेछ ।

उहाँले ढाकास्थित नेपाली दूतावास भ्रमण गरी त्यहाँ रहेका नेपाली समुदायसँग भेट पनि गर्नुहुनेछ ।

भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव भरतराज पौडेललगायत उच्च सरकारी अधिकारी र एक सांस्कृतिक टोली पनि रहने छ । राष्ट्रपति भण्डारी आगामी बुधबार स्वदेश फर्कनुहुनेछ ।