जापानमा आत्महत्या गर्ने नेपालीको संङख्या बढ्दै,कारण के होला ?

जनचेतना मूलक अभुमुखिकरण तथा परामर्शको कमी

टोकियो,माघ,२१-नेपाल देखि जापानमा उच्च शिक्षा र रोजगारीको सिलसिलामा आउने नेपालीको संख्या पछिल्लो समय दिनप्रति दिन बढ्दै गएको छ।

जापान सरकारको अध्यागमन ब्यूरोले सन् २०२४ को जुन अन्त्यसम्म तथ्याङ्कहरु सार्वजनिक गरेको आधारमा हेर्ने हो भने नेपालीहरु जापानमा छैटौं ठुलो विदेशी समुहको रुपमा रहेका छन्।उक्त तथ्याङ्को आधारलाई मान्ने हो भने २०६,८९८ जना नेपालीहरु जापानमा बसोबास बस्छ्न।तर हाल सम्म जापानमा बस्ने नेपालीको संख्या २ लाख २० हजारको हाराहारीमा पुगिसकेको छ।

जापानमा नेपालीहरुको वर्चस्व बढे संगै यहाँ महिनै पिच्छै अप्रिय घट्नहरु घट्न थालेका छन्।हरेक महिना कोहि न कोहि नेपालीहरुले ज्यान गुमाई रहेका छन्।जस अन्तर्गत पछिल्लो समय नेपालीहरुले बढी ज्यान गुमाउने घट्ना हो, “आत्महत्या” !!

आज म यो लेखमा आफूले जाने बुझेको र आफू निकट केहि डाक्टर साथीहरु र अग्रजसंगको भलाकुसारी पछि आत्महत्या गर्नुका कारण र आत्यमहत्या गर्नु पुर्व मानिसहरुले देखाउने सामान्य लक्ष्यण र रोकथामको उपायका बारेमा चर्चा गर्नेछु।

कृपया यो लेखलाई पढे पछि शेयर गरेर साथ दिनुहोला।ताकि जो कोहि होस् “आत्महत्याको शिकार आफैं गर्न खोजिरहेका सम्बन्धीत मानीसमा एउटा सानो कुराले केहि परिवर्तन आउछ, भने त्यो नै तपाई हाम्रो धर्म हो,जस्तो मलाई लाग्छ।”

अब लागौं आजको मुख्य विषयवस्तु तर्फ, “आत्महत्या”

सामान्यतया पछिल्लो समय विश्वमा नै आत्महत्या तथा “सुसाईड” गरि ज्यान लिनेहरुको संख्या बढ्दै गईरहेको छ।सामान्य भाषामा भन्नुपर्दा संसारमा कुनै पनि व्यक्तीले जानीजानी आफ्नो जीवन आफैँले समाप्त पार्दछ भने त्यसलाई हामी आत्महत्या “सुसाईड” गरेको भनेर बुझ्छौं।

नेपालीको सन्दर्भमा मुख्यगरी हेर्ने हो भने, डोरीमा झुन्डिएर, विष खाएर, घरको छतबाट तथा खोलामा हामफाल्ने गरेर आत्महत्या गरेको धेरै पाइन्छ।यसबाहेक आफैले आफ्नो हात काट्ने,अत्याधीक रक्सी पिउने जस्ता कार्य गरेको देखिन्छ।

जब मान्छेले आत्महत्या गर्छ नि उसले किन यस्तो गर्यौ कारण यहि हो भनेर यकिन भन्न त सकिदैन्।तर आत्महत्या गर्नुको मुख्य कारण मानसिक रोग एक हो।मानसिक रोगले चाप्दै गएपछि मान्छे आत्महत्या गर्ने अवस्थामा पुग्छ।कुनै मानसिक रोग लामो समयदेखि लागिरहेको हुन्छ भने कुनै तत्काल भएको घटनाका कारण उत्पन्न मनो समस्या हुन्छ।जसको कारण मान्छेले आफूलाई संयमता राख्न सक्दैन् र आत्महत्या गर्न बाध्य भएको पाउदछौं।

तर कतिपय आत्महत्या “सुसाईडका” घट्नाहरु भने फरक पनि रहेको छन्।सामाजिक,आर्थिक,दवाब र टर्चरहरु जस्ता कारणले पनि मान्छेले आत्महत्या गरेका हुन्छन्।जस्तो,कुनै पनि गम्भीर प्रकृतिका हिंसामा परेका महिलाहरू,सामूहिक बलात्कारमा परेका महिलाहरूमा डिप्रेसन भएको हुन सक्छ।यस्तो बेलामा पनि मान्छेले आत्महत्या गर्न सक्छन्।आफूले सोचे खोजेअनुसार परिस्थिति नभएका व्यक्तिहरूले  पनि डिप्रेसन भएर आत्महत्या गर्न सक्छन्।

जापानमा नेपालीहरुले आत्महत्या “सुसाइड” गर्नुको कारण ।

जब मान्छेले आत्महत्या गर्छ,उसले के कारणले गर्यौ भनेर ठ्याकै भन्न त सकिन्न तर पनि उसको विगतको हरेक कृयाकलाप र दैनिकि जिवनलाई नियाल्ने हो भने आत्महत्या गर्नुका कारणको केहि अनुमान भने पक्कै लगाउन सकिन्छ।

पछिल्लो समय जापानमा आत्महत्या “सुसाईड” गर्नुका कारणहरु धेरै नै रहेका छन्।जुन हामीले भोगेको देखेको र पाएको विवरणको आधारमा म संक्षिप्तमा लेख्ने छु।आत्महत्या गर्नुको कारण नेपालीको हकमा हेर्ने हो भने आर्थीक समस्याले थिचोलेको र त्यसैमा निर्णय लिन, संयमता हुन नसक्नु एउटा उमेरको अपरिपक्कता लगायत विभिन्न दवाव टर्चर र आफूले सोचे खोजे अनुसार परिस्थिति नभए पछि डिप्रेशन भएको र आत्महत्या गर्ने गरेका छन्।

किनकि हामीले जुन किसिमले नेपाल देखी जापान आउदा जे सोचेर आउछौ,त्यसको ठिक विपरित भैईदिदा धेरै मानिसहरु डिप्रेशनमा जाने गर्छ।नेपाल देखी आउदा लाखौं खर्च गरेर विद्यार्थी भिषामा अथवा अन्य कुनै पनि भिषामा आउदा यस्ता जटिल समस्या उत्पन्न हुने गरेका छन्। त्यसको मुख्य कारण के हो भने जस्तो काम नपाउनु,आम्दानी नहुनु,यहाँ आएपछि कतिपय जनालाई स्वास्थ्यले साथ दिदैन्,काम गर्न सकिदैन, भने जस्तो विदेशमा साथीहरु भने जस्तो नमिलेको पनि हुन सक्छ।

विदेश आउदा लिएको लाखौं रुपैयाँको ऋिणको एका तिर बोझ हुन्छ, त्यसैमा घरपरिवारले नबुझिदिदा परिवार बाट छिटो ऋिण तिर्नको लागि बारम्बार ताकेता भैईदिदा यस्ता कुराहरुले जो पनि डिप्रेशनमा जान सक्छन्, र आत्महत्या “सुसाईड” गर्ने निर्णयमा पुग्ने गरेका छन्। 

जापानमा नेपालीहरुलाई आत्महत्या “सुसाइड” गर्नुबाट कसरी जोगाउन सकिन्छ ।

यो आत्महत्या “सुसाइड” जस्तो गम्भिर घट्नाबाट ठ्याक्कै बचाउन त नसकिएला, तर यसको बारेमा मनिसहरु समक्ष राम्रो जनचेतना मुलक सन्देश समय मै दिन सक्यौ भने अवश्य रोकथाम गर्न चाहिँ सकिन्छ।किनकि आत्महत्या सोच भएकै व्यक्तीहरुलाई जोगाउनको लागी हामीसंग निश्चित समयावधि हुन्छ।यदि त्यस समयावधिमा हामीले उक्त व्यक्तीलाई जोगाउन सकियो भने आत्महत्या शतप्रतिशत रोकथाम गर्न सकिन्छ।

जापानमा बस्ने नेपालीहरु जो आत्महत्या गर्ने सोच बनाएका व्यक्तीहरुलाई जोगाउनको निम्ती तपाई हामी सबैले केहि आधारभुत कुराहरु अपरिहार्य गर्न जरुरी छ।जुन विभिद् कुरा मैले आत्महत्या गर्नुका कारणहरुमा माथि भने जस्तै त्यहि कुरालाई रोक्नको लागि जो व्यक्ती आर्थीक चपेटामा परेका छन्, हुनत हामी सबै नेपालीमाझ यो आर्थीक समस्या त छदै नै छ, तर पनि त्यसलाई रोक्नको लागि हामी नेपालीले केहि गृहकार्य गर्न अवश्य जरुरी छ। 

पछिल्लो समय उच्चशिक्षा र रोजगारीका लागि हामी नेपाली मात्र नभएर अन्य विदेशी मुलका नागिरक पनि लाखौंको संख्यामा जापानमा भित्रीएका छन्।जसले गर्दा विदेशीले यहाँ सोचे अनुसार र भनेजस्तो काम नपाउनु नै हो।यसमा पनि मुख्य समस्या भाषाको रहेको छ,काम गर्ने कम्पनिले पनि धेरै विदेशी भएपछि जसको भाषा राम्रो छ,उसैलाई राख्ने गर्छ, ताकि उसलाई पनि काम गराउन सजिलो होस्।

यहि विचमा हामी कतिपय नेपालीहरु भाषा नपढी कुनै पनि कुरा नबुझीकन अरुको लहलहैमा लागेर विदेश पुगेका हुन्छौं,यसरी आउने जो कोहिलाई परेको मुख्य समस्या नै यहि हो।काम नपाएर हैरान खेपि रहेकालाई जापान आउदा लिएको त्यो लाखौं रुपैयाँको ऋिणले तनाव दिईरहेको बेला घर परिवारले पनि संयमता भएर सके सम्म उसको गुज्रीरहेको समयलाई बुझेर आफ्ना छोरा छोरीलाई पैसा नमागिकन सम्झाउन अत्यन्त जरुरी छ।

किनकि एक त उनिहरु अपरिपक्क उमेरमा विदेश पुगेका हुन्छन्, एकातिर पढाई अर्को तिर कामको बोध र विभिद दैनिकी समस्याका कारण स्वतह केहि सोच्न नसक्ने स्थितीमा पुगि सकेका हुन्छन्।त्यसमा परिवारले समस्या थपिदिनु हुदैँन र हौसला दिने काम परिवार र साथीभाईबाट हुन जरुरी छ।

नेपाल देखी जापान पठाउने जति पनि कनसल्टेन्सीहरु छन्,तपाईहरुले पठाउदा लाखौं कमाईन्छ भनेर प्रलोभन नदेखाईदिनु होला, कमाए पछि खर्च कति हुन्छ,संघर्ष कसरी गर्नु पर्छ,भनेर पनि सिकाउनु होला।साथै भाषा र जापानको सामान्य नियम कानुन रितिरिवाज सम्बन्धी बुझाएर पठाउनु भयो भने सायदै तपाईले पठाउनु भएको विद्यार्थीले दु:ख पाउदैन र नबुझीकन सकड दुर्घटना र आत्महत्या जस्ता गम्भिर घट्नाबाट मान्छेको ज्यान जोगिन सक्छ।

अर्को कुरा यहाँ स्थापित भैईसकेका केहि अग्रज (सेन्पाई) र नयाँ आगन्तुक विच सहकार्य नहुनु र आफूले सिकेका कुराका अनुभव समेत नयाँ लाई नबाँड्नु जस्ता कार्यले पनि नयाँले दुख पाउने गरेका छन्।त्यसैले नयाँले पनि अगाडी आईसकेका संग सोधपुछ गरि परामर्श लिन जरुरी छ,भने पुराना (सेन्पाई) हरुले आफूले सिकेको कुराहरुको नयाँलाई राम्रो संग सल्लाह सुझाब र परामर्श दिनु अहिलेको आवश्यकता हो।

मुलत : जापानमा सामाजीक कार्य गर्न भनि खोलिएका विभिन्न जातीका आ-आफ्नै संघ संस्था छन्।त्यसैमा जापानमा भैपरि आउने नेपालीको समस्याको प्रतिनिधित्व गर्ने गरि सबैको साझा संस्था गैर आवासिय नेपाली संघ जापान (एनआरएनए) छ।राजदुतावास छ,अनि पत्रकारितामा,टिकटकमा,यूटुबमा मै हुँ भन्दै जापान सम्बन्धी ज्ञान दिन खोज्ने भनौदाहरु पनि यहाँ औंलामा गनि नसक्ने मान्छेहरु छन्।

तर कुनै पनि संस्थाले जापानमा आएका नयाँ भाईबहिनीहरुका लागि जापान सम्बन्धी जनचेतना मूलक अभुमुखिकरण परामर्श कार्यक्रममा जोड दिएको मैले पाएको छैन्। 

यहाँ भएका संस्थाको मुख्य उद्देश्य मान्छे मरोस् मतलव (खान्के) हुदैँन।उनिहरुलाई मतलव छ त कसरी फिल्म ल्याउने, कार्यक्रमका टिकट कसरी बच्ने, अथवा उसको कार्यक्रम भन्दा हाम्रो कार्यक्रम कसरी राम्रो बनाउने, कार्यक्रमभर अतिथीको होडबाजी, जे जस्तो कार्यक्रम गरेपनि पैसा कसरी असुल्ने र कमाउने मात्र देखिन्छ। 

तर हाम्रो नेपाली कला संस्कृती, भाषा भेषभुषा सम्बन्धी जगेर्ना गर्नु पर्छ, जापानीज लगायत विदेशीमाझ चिनाउनु पर्छ,भनि ठुला ठुला फेस्टिवलका आयोजनाहरु हुन्छन्,त्यहाँ जनचेतना मुलक, परामर्श गर्ने एउटा स्टल पनि हुदैँन्।के जापानमा भएका कुनै पनि संघ संस्थाले त्यो कार्य गर्नै हुदैँन।के विदेशमा खोलिएका संघ संस्थाहरु मनोरञ्जन, अतिथी बन्न र पैसा कमाउनको लागि मात्र हो ?

जे होस् : यदि विदेशमा रहेर स्वच्छ मनले सामाजिक कार्य गर्ने हितु हो भने जापान सम्बन्धी नयाँ आएका भाईबहिनीहरुका लागि राम्रो जनचेतना मुलक अभिमुखिकरण परामर्श जस्ता कार्यक्रम गर्नुहोस,मेरो सल्लाह सुझाव छ।किनकि तपाईले गरेको सानो कार्यले कसैको जिन्दगी बन्छ, कसैको ज्यान जोगिन्छ भने त्यो जतिको भलो काम सायदै यो संसारमा अरु केहि पनि होईन। 

मैले यो कुरा कसैलाई दोषारोपण गर्न लागि भनेको हैन्, भनेको किन हो भने आत्महत्या जस्तो गम्भिर समस्या बढ्दै गईरहेको अवस्थामा आत्महत्या गर्न लागेका लक्षणहरू परिवार र समाजले बेलैमा बुझेर यस्ता जनचेतना मुलक कार्यक्रम गर्नुका साथ छिटो उपचारमा लैजानु भनेको नै यो रोकथामको उत्तम उपाय हो।

अब अन्तमा आत्महत्याका लक्षणहरु बारे चर्चा गरौ ।।

व्यक्तिको जीवनमा अनेक घटनाहरू हुन्छन्।कुनै घटनाले खुसी बनाउँछ त कुनैले दुःखी।घटनाको खुसी वा दुःख स्थायी हुँदैन।समयसँगै सामान्य हुँदै र कमजोर भएको मनोबल जागृत हुँदै जान्छ।व्यक्ति सामान्य दिनचर्यामा फर्किन्छ।कहिलेकाहीँ भने कुनै घटना विशेषको दुःख बढ्दै जान्छ।मन विरक्तिन थाल्छ,एक्लो र कमजोर भएको महसुस हुन्छ।यस्तो अवस्थामा परिवारजन,आफन्त र साथीसंगतबाट सहयोग मिलेन भने दुःख,पिर-चिन्ता बढ्दै जान्छ अनि दिमागमा गढेर बस्छ।यसो भएपछि मानसिक स्वास्थ्यमा असर पर्छ, आत्मबल घट्दै जान्छ।त्यस्तो व्यक्तिले बाँच्नुको अर्थ देख्न छाड्छ।

जो कोहि मानिसहरुले आत्महत्या “सुसाईड” गर्ने सोच बनाएको छ, भने उक्त व्यक्ति निराश हुने, आशा विहिन हुने, सहयोग विहिन भएको महसुस गर्ने वा आफू मूल्यहिन भएको महसुस गर्ने गर्दछ।पहिला यस्ता सोचहरु नआएको तर हालको अवस्थामा मुल्यहिन,सहयोग विहिन आशा विहिन भएको सोचहरु आइरहेको छ भने त्यस व्यक्तिले आत्महत्या गर्ने सम्भावना हुन्छ भनेर हामीले बुझ्नुपर्दछ।

अर्को कुरा हालको समयमा आएर यदि उक्त व्यक्ति एकदमै हिंस्रक भईरहेको छ, छटपटाहट भएको छ वा एक्लो महसुस गरेर कसैसँग पनि नबोल्ने, एक्लै टोलाएर बस्ने गरिरहेको छ,भने त्यस्तो अवस्थामा पनि उक्त व्यक्तिले आत्महत्या गर्न सक्छ भनेर बुझ्नु पर्दछ।त्यस्ता व्यक्तिलाई घरपरिवार आफन्त साथीसंगतले सहयोग गरेर मानसिक परामर्श लिनुपर्दछ।

आत्महत्या रोकथामको लागि नेपाल सरकारले पनि राष्ट्रिय योजना बनाएर नै आत्महत्या नियन्त्रणको प्रयासमा लाग्न अति जरुरी छ।यस्ता कार्यले गर्दा आत्महत्या सम्बन्धी गम्भिर घट्ना बाट बच्न मानिसहरुलाई रोक्न सकिन्छ।  

आत्महत्या सम्बन्धी जति पनि आज हामीले माथी कारण र रोकथाम र लक्षणका बारेमा कुराकानी गर्यौ, यदि त्यो भित्रको लक्षण तपाईमा पनि छ भने तपाईहरुले समयमै उपचार लिनुभयो भने निराशजनक अवस्थाबाट अघि बढेर,जीवनमा नयाँ दियो बालेर जीवनलाई अगाडी बढाउन सक्नुहुनेछ, बाँचे पक्कै तपाईले संसार जित्नु हुनेछ। धन्यवाद !!