आज विश्व पानी दिवस

काठमाडाैँ,चैत,८-

आज विश्व पानी दिवस विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाइँदै छ । पानीको उपयोग तथा स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ पानी दिवस मनाउन लागिएको हो ।

विश्वभर पानीका स्रोत क्रमशः सुक्दै गएकाले तिनको संरक्षणमा संसारका सबै राष्ट्र अग्रसर हुनुपर्नेमा जोड दिँदै राष्ट्रसंघीय वातावरण तथा विकास महासभाले सन् १९९३ देखि मार्च २२ का दिन यो दिवस मनाउने निर्णय गरेको हो ।

दिवसका अवसरमा आज विभिन्न गैरसरकारी संघसंस्थाले जलाधार क्षेत्रको संरक्षण, पानीको महत्व लगायतका बारेमा चेतना जगाउन विविध कार्यक्रम गर्दैछन् ।

विश्वभर बढ्दो जनसंख्यासंगै आउँदा दिनमा स्वच्छ पानी र उर्जाको माग विश्वभर अझै बढ्दै जाने र यो वृद्धिले सबै क्षेत्रमा ठूलो चुनौती निम्त्याउन सक्ने भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।

नेपालमा काठमाडौ उपत्यका लगायत सहरी क्षेत्रका बासिन्दाले पानीको निकै अभाव खेप्नुपरेको छ । जलश्रोतको धनी भनेर चिनिने नेपालमा जलश्रोतको सही सदुपयोग हुन नसक्दा पानीको अभाव हट्न सकेको छैन् ।