आज तिहारको चौथो दिन गाई, गोरु, हलिको पुजा गरि मनाईदै

काठमाडौँ,कार्तिक,८-नेपालीहरुको महान चाड यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ ।

गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो । गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको शास्त्रमा उल्लेख गरिएको छ ।

आधुनिक विज्ञानले समेत स्थानीय गोरस विभिन्नि रोगहरुमा अचुक औषधिका रूपमा प्रयोग गर्दा मानव स्वास्थ्यलाई फाइदा पुग्ने भनी अनुसन्धानबाट प्रमाणित गरेपछि गाईको महत्व अझ बढेको एक अनुसन्धानमा संलग्न अनुसन्धानकर्मीले बताउनुभयो ।

आजैका दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो मीठो खान दिने गरिन्छ । गोरुको साथमा जोत्ने हलीलाई समेत पूजा गरी खाना खुवाइन्छ।यसैले आजको दिनलाई गाईतिहार र हलीतिहार समेत भन्ने गरिन्छ । आज गाई, गोरु र हलीलाई समेत मीठा कुरा खान दिइन्छ ।