अख्तियारले लियो : पूर्व मूख्यसचिव क्षेत्रीसंगै दुई सचिवको बयान

काठमाडौं, कात्तिक ,१९-

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत प्राधीकरणको ट्रान्स्फर्मर खरिद प्रकरणमा पूर्व मूख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीसँग बयान लिएको छ । पूर्व मूख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीसँगै सचिव अर्जुनकुमार कार्की र पूर्वसचिव विश्वप्रकाश पण्डितसँग पनि बयान लिइएको छ । अख्तियारले तीनै जनासँग ऊर्जा सचिव हुँदा गरेको निर्णयका आधारमा बयान लिएको हो ।

चीनको हुवेइ सनलाइट र थाइल्यान्डको सहवन्त इलेक्ट्रिक कम्पनीबाट उत्पादित ट्रान्सफर्मर खरिदमा अनियमितता भएको ठहर गर्दै अख्तियारले भदौ ०७० मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । त्यसलगत्तै प्राधीकरणको बोर्डले दुवै कम्पनी ‘आर्विट्रेसन’मा जाने निर्णय गर्‍यो । उक्त निर्णय गर्दा एउटा बोर्ड बैठकको अध्यक्षता तत्कालीन ऊर्जा सचिवको हैसियतमा विश्वप्रकाश पण्डित र दोस्रोमा राजेन्द्रकिशोर क्षेत्रीले गरेको बताइएको छ ।

‘आर्विट्रेसन’मा जाने निर्णयलगत्तै मध्यस्थकर्ता नियुक्त गरिएको थियो । अदालतमा विचाराधीन मुद्दामा मध्यस्थकर्ता नियुक्त गर्न नपाइने बताउँदै अख्तियारले मुद्दा प्रभावित पार्न खोजेको निष्कर्ष निकालेको छ । ‘आर्विट्रेसन’ प्रक्रियाबाट कुनै उपलब्धि नभएको र झन्डै दुई करोड ५० लाख खर्च भएको ठहर गरेको छ ।