माघ ७ गतेभित्र तीनवटै तहको निर्वाचनमा सघाउन प्रधानमन्त्रीको आग्रह

काठमाण्डौं,फागुन २-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगत ७० वर्षदेखिका जनक्रान्ति तथा जनआन्दोलनको उपलब्धिको रक्षार्थ संविधान कार्यान्वयनको विकल्प नभएको बताउनुभएको छ । छैटौंँ विश्व रेडियो दिवसका अवसरमा सामुदायिक रेडियो प्रसारक सङ्घ (एर्कोयाव)ले आज आयोजना गरेको कार्यक्रममा उहाँले संविधान कार्यान्वनका लागि आगामी माघ ७ गतेभित्र तीनवटै तहको निर्वाचन गर्ने कार्यमा सघाउन सबैसँग आग्रह गर्नुभयो ।

संविधानअनुसार निर्वाचन गराउन नसकेको अवस्थामा राजनीतिक अराजकता आउने सक्ने भन्दै उहाँले संविधानको कार्यान्वयनमा सबैको सहयोग आवश्यक छ भन्नुभयो । सिंहदरबारको सूचनालाई टोलटोलमा लैजान रेडियोले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उहाँले दुर्गम गाउँमा महिला तथा दलितले सञ्चालन गरेका रेडियोलाई राज्यले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले ग्रामीण समुदायलाई सूचना तथा सन्देश प्रवाह गर्ने सामुदायिक रेडियोको दिगो विकासका लागि सहयोग गर्न निर्देशन दिनुभयो । उहाँले रेडियोको भूमिका बढ्दै गएकाले गुणस्तरीय विषयवस्तु उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष खिलबहादुर भण्डारीले रेडियोको प्रभावकारिता अन्य सञ्चार माध्यमको भन्दा बढी हुने भएकाले यसको दिगो संरक्षणमा लाग्नुपर्ने बताउनुभयो ।