आईडब्लुएफन करातेमा नेपाल च्याम्पियन

काठमाण्डाैं,असार,५-

प्रथम आईडब्लुएफएन अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि नेपालले जितेको छ । नेपाल २४ स्वर्णसहित टिम च्याम्पियन बन्यो ।

आईडब्लुएफएन कराते डो संघको आयोजनामा भएको प्रतियोगितामा ४ स्वर्णसाथ भारत दोश्रो भयो । १ स्वर्ण जितेको भुटान तेश्रो स्थानमा रह्यो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा प्रतियोगिताको पुरुषमा राजेन्द्र राई तथा महिलामा शिवा भण्डारी उत्कृष्ट खेलाडी चुनिए ।

पुरुषमा पुष्पराज नेगी तथा महिलामा रोइसा चौधरी उदीयमान खेलाडी घोषित भए । उत्कृष्ट र उदीयमान चारै खेलाडी नेपालका हुन् ।

विजेतालाई राखेप सदस्य–सचिव केशवकुमार विष्ट, आयोजक संघका अध्यक्ष लक्ष्मण लम्साललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

दुईदिने प्रतियोगितामा नेपालबाट १ सय ३५ पुरुष र ७० महिला, भुटानबाट ९ पुरुष तथा भारतबाट १ सय ४० पुरुष र ३० महिला गरी जम्मा ३ सय ८४ खेलाडीले विभिन्न २९ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।