महिला फुटबलर पुर्णीमा हमाल ठकुरी संगको अन्तर्वार्ता ( नेपाल )

काठमाण्डौं,असार,१८-

महिला फुटबलर : पुर्णीमा हमाल ठकुरी

नेपाली महिला फुटबलको यतिबेला नेपालमा निकै चर्चा दिन प्रतिदिन चुलिदै गएको छ । पहिले भन्दा अहिले नेपालमा महिला खेलाडीलाई फुटबल खेल्ने वातावरण विस्तारै सहज बन्दै गएको पाईन्छ । फुटबल खेल संसारमै सबैभन्दा धेरै रुचाइने खेलका रूपमा लिइन्छ।तर संसारभरी नै हेर्ने हो भने महिला फुटबल पुरुषको तुलनामा ओझेलमा परेको देखिन्छ।नेपालमा पहिले महिला खेलको वास्तविकता पनि यहि थियो ।

तर अहिले भने नेपाली महिला फुटबलमा फरकपनता पक्कै आएको छ । पछिल्लो समय नेपालमा महिला फुटबलको लोकप्रियता बढे संगै आज हामीले अन्डर १५ खेलीसकेका एक जना कर्णाली प्रदेशले जन्माएको महिला फुटबलर पुर्णीमा हमाल ठकुरी संग पछिल्लो समय यता महिला फुटबलमा के कस्तो हुँदैंछ, महिला फुटबलको स्तरोन्नतिका निम्ती तपाईको धारणा के छ ? साथै उनले फुटबलमा गरेका संघर्षहरुको बारेमा बुझ्न हामीले उहाँ संग कुराकानी गरेका छौं ।

अब प्रस्तुत छ, उहाँसंग गरिएको कुराकानी जस्ताको त्यस्तै !!

१.”पुर्णीमा” जी तपाईलाई बिहानी अनलाईन डटकममा हार्दिक स्वागत छ ?

– धन्यवाद !

२. सन्चै हुनुहुन्छ ?

– हजुर ! अहिले सम्म आरामै छु ।

३.”पुर्णीमा जी” आज हामीले तपाईसंग नेपाली महिला फुटबललाई कसरी राम्रो बनाउन सकिन्छ । नेपाली महिला फुटबलको विकाशका लागि के हुन आवश्यक छ, यीनै बिषय वस्तु संग रहेर नेपाली महिला फुटबल सम्बन्धी समसामयीक केहि कुराकानी गर्न खोजेका छौं ।’पुर्णीमा’ जी यहाँलाई हाम्रो पहिलो प्रश्न तपाईको फुटबल खेलको जिवनी कहाँ बाट सुरुभयो ?

-सर्वप्रथम त मुगु जस्तो विकट जिल्लामा फुटबल भन्ने नै धेरै लाई थाहा छैन् । केहि वर्ष अगाडीको कुरा हो । गाँउमा एउटा संस्था आएको थियो, त्यो संस्थाको नाम मलाई अहिले ठ्याक्कै याद भएन, त्यहि संस्थाले फुटबलको नाम बारेमा सुनाएको थियो । सायद मलाई त्यहि संस्थाले हुनुपर्छ, मुगुमा हामीलाई फुटबल समबन्धी पहिचाहान गराएको, त्यसपछि मुगुका स्कुल लेभलमा पनि फुटबल खेल्ने गरेका थियौं ।

हामीले खेल्ने ति खेल मैदानमा हिँउ परेर सेताम्मे हुने गर्दथे, ति सेताम्मे खेल मैदानमा कति पटक नाङ्गा खुट्टाले फुटबल खेलको अझै झलझल्ती याद आउछ, त्यसरी नै हामी फुटबल खेल्दै गयौं, र मैले पछि जिल्लामा हुने जिल्ला स्तरिय फुटबल खेल्ने मैका पाएको थिए । सम्भव त मेरो आफ्नो फुटबल खेलको यात्रा आफ्नै गाँउ ठाँउबाटै सुरु भएको हो ।

मुगु स्थित हिँउले सेताम्मे ढाकेको खेल मैदानमा अभ्यास गर्दै : महिला फुटबलर पुर्णीमा हमाल ठकुरी!!

४.नेपाली समाजमा महिलालाई फुटबल खेल्न कत्तीको सहज छ ?

-निकै नै सयम सान्दर्भिक प्रश्न सोध्नुभयो , प्रश्नको लागी यहाँलाई धन्यवाद ।वास्तवमा भन्ने हो भने तपाई हामी सबैलाई थाहा भएको कुरा हो हाम्रो नेपाली समाजमा कुनै पनी काम गर्न गारो छ। त्यो पनी महिलाको त कुरै नगरम, किनकि नेपाल अन्य राष्ट्रको तुलनामा धेरै पछि छ । अरु राष्ट्रको जस्तो हाम्रो नेपालमा महिला मैत्री राष्ट्र अझै भई नसकेको हुँदा यहाँ महिलालाई कुनै पनी काम खुलेर गर्न एकदम कठिन छ । त्यसमा फुटबल त झनै धेरै परको कुरा भयो , केहि फरक काम गर्योकि यहाँ खुट्टा तान्ने प्रवद्धि बढि छ,त्यसैले ती सबै कुरालाई मध्यनजर गर्दै महिलालाई अगाडी बढ्न नेपाली समाजमा एकदमै कठिन छ ।

५.उसो भए ‘पुर्णीमा’ जी के कुराबाट फुटबल खेलमा प्रेरित हुनुभयो ?

-गाँउमै एक जना सुनकाली भन्ने दिदि हुनुहुन्थ्यो, उहाँ पनी फुटबल खेल्ने गर्नुहुन्थ्यो, उहाँ चर्चित नै हुनुहुन्छ, त्यो बेला मलाई उहाँ जस्तै राम्रो खेलेर चर्चीत बन्छु भन्ने मनमा सोच आयो, र उहाँले पनी मलाई बेला बेला भन्नुहुन्थ्यो : दुर्गम भनेर फुटबल खेल्न नछोड्नु भनेर भनिरहनुहुन्थ्यो, र सम्भवत उहाँबाटै प्रेरित भएर र मेरो बाल्यकाल देखि कै रुची भएकोले फुटबल खेल्न सुरुवात गरेको हुँ ।

६.यहाँले अहिले सम्म कती वटा टुर्नामेण्टमा सहभागिता जनाउनु भएको छ ?

-मैले अहिले सम्म ३ वटा टुर्नामेण्टहरु खेलीसकेको छु । फुटसल त धेरै नै खेल्ने गर्दछु ।

७.पछिल्लो समय नेपालमा महिला फुटबल खेलको पनी उत्तीकै लोकप्रियता बढिरहेको छ, नेपालमा अन्य देशको तुलनामा महिला फुटबलको विकास माथी उकास्न नसक्नुमा तपाई के भन्नुहुन्छ ?

-नेपालमा जसरी महिला फुटबलको विकास हुनुपर्थ्यो त्यो पक्कै नभएकै हो । अब नेपालमा पनी महिला फुटबलको विकास माथी उकास्नका निम्ती मलाई लाग्छ, सरकारले महिला फुटबलमा पनी सर्वप्रथम लगानी बढाउनु पर्दछ । महिला फुटबलरहरुको लागि दक्ष पशिक्षकद्धारा प्रयाप्त टेक्निकल्ली ट्रनीङ दिन जरुरी छ , साथै हरेक क्षेत्रमा महिलाको लागि छुट्टै खेल मैदान बनाउन जरुरी छ ।

जसरी पुरुषका लागि मोफसलमा गोल्डकप हुन्छन्, त्यसरी नै महिला फुटबलरको लागि पनी मोफसलमा हुने गोल्डकप हुन आवश्यक छ । जसले गर्दा महिला खेलाडी उत्पादनमा टेवा पुर्याउदछ । अर्को कुरा महिला फुटबलको विकासका लागि बाहिरी पक्षलाई पनी प्रत्साहन गर्न जरुरी छ । तर लगानीले मात्र फुटबलको विकास हुँदैन, त्यसका लागी निती नियमहरु तर्जुमा गर्दा सहि बनाउनुपर्छ, यति भएपछि मात्र नेपाली महिला फुटबलको विकासलाई माथि उकास्न सकिन्छ,जस्तो लाग्छ ।

८. “पुर्णीमा जी” तपाई त एउटा अण्डर १५ पनी खेलिसक्नु भएको छ, तर के कारणले राष्ट्रिय टिममा छनोट हुन सक्नु भएन ?

-यसमा धेरै कारणहरु छन् । मैले नेपालको जर्सी लगाएर राष्ट्रिय टिममा रहेर खेल्नको निम्ती एकदमै मेहेनत गरेको थिए, र अहिले पनि गरिरहेको छु । राष्ट्रको जर्सी लगाएर खेल्ने रहर कसलाई पो हुँदैन र , जब मैले फुटबल खेल्न सुरु गरेपछि म जिल्ला स्तरिय फुटबल खेल्न मुगुबाट सुर्खेत आएको थिए ।

त्यो बेलाको समयमा पहिलो पटक भएर होला सायद हामीले खेल जितेनौं तर म १ जना छनोटमा पर्न सफल भए यसले मेरो झनै फुटबल प्रती आत्मामनोवल बढाईदियो, त्यसपछि म प्रदेश नं. ६ बाट राष्ट्रिय टिम छनोटको लागि खेल्न गए, त्यो खेल लुम्बिनीमा भएको थियो । तर विडम्वनाको कुरा मैले त्यहाँ आफ्नो खेल देखाउन नपाएरै म छनोटमा पर्न सकिन, त्यसपछि मलाई लाग्यो म एकदिन जसरी पनी नेपालको जर्सी लगाएर राष्ट्रिय टिममा रहेर खेल्छु सोचेर अहिले त्यहि अनुरुप मेहेनत गरिरहेको छु । हेरम अब भोलीका दिनमा के हुन्छ, राष्ट्रिय टिममा छनोट हुन त्यतिको कहाँ सजिलो छ र !

९. अर्को कुरा “पुर्णीमा जी” पछिल्लो समय नेपालको फुटबलमा विकास हुन नसक्नुका थुप्रै समस्याका कारणहरु त छन् नै , तर नेपाली महिला खेलकुद जगतमा नातावाद्, कृपावाद कत्तीको हावी भएको छ, के लाग्छ यहाँलाई ?

-यस बिषयमा मलाई के लाग्छ, भने नेपाल कुनै पनी कुरामा सक्षम हुन नसकेको नै नातावाद र कृपावादकै होडबाजीले हो जस्तो लाग्छ।किनकि यहाँ राम्रालाई भन्दा आफ्नालाई प्राथमिकता दिईन्छ । यो फुटबलको क्षेत्रमा मात्र होईन अन्य हरेक क्षेत्रमा यो कुरा लागु छ । यसर्थ राम्राले अवसर पाईरहेका हुदैनन् । त्यसैले नेपाली खेलकुद खस्कदो छ, राष्ट्रको निम्ती खेल्न चाहाने सयौं खेलाडी छन् । उनीहरु अवसर नपाएर विदेश पलायन भएका हुन्छन् । यो एकदमै दु:खद कुरा हो ।

१०. सरकारले महिला फुटबलको क्षेत्रमा विकासको लागि के गर्दिएको भए राम्रो हुनेथियो जस्तो लाग्छ ?

-त्यहि हो मैले अघि नै भनिहाले महिला फुटबलको विकासका लागि सरकारले महिला फुटबलको लागि पनि लगानी बढाउन जरुरी छ । निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गर्नु पर्छ, हरेक क्षेत्रमा महिलाको लागि अलग्गै स्टडियमहरु बनाउनु पर्छ । किनकि खेलाडीहरु भनेको देशको गहना नभई, अंग हो भन्छु म किनकि गहना त खोलेर पनि राख्न सकिन्छ होईनर , तपाई आफैं भन्नु त त्यसैले खेलाडी पनी राष्ट्रको अंग हो । त्यसैले खेलकुदको क्षेत्रमा लगानीका साथ साथै सहि निती निर्माण तर्जुमा गर्नुपर्छ ।

११. नेपालमा फुटबल खेल्ने खेलाडीको जीवन कष्टकर छ, तपाई हामी सबैलाई थाहा छ , त्यो पनी झनै महिला खेलाडीहरुलाई, अब तपाई जस्तै अवसर नपाएर राम्रो प्रदर्शन गर्न सक्ने महिला खेलाडी पनी थुप्रै छन् , यहाँलाई सरकारले महिला खेलाडी उत्पादन गर्नका लागी के गर्नु पर्छ जस्तो लाग्छ ?

-सर्वप्रथम त सरकारले महिलालाई फुटबल खेल्ने वातावरण सिर्जना गर्न अत्यन्तै आवश्यक छ । किनकि अझै पनि धेरै महिला खेल्ने वातावरण नपाएर गुम्सिएर बसेका छन् । कतिपय घरयसी समस्याका कारण खेल्न पाएका छैनन् होला, भने कतिपय समाजले हेर्ने दृष्टिकोणले गर्दा पनि खेल्न चाहादैन् ।त्यसैले म जस्तै व्यवसायीक तरिकाले खेल्न चाहानेका लागि सरकारले पारिश्रमिक पनी तोक्नु पर्छ । जसले गर्दा महिला खेलाडी उत्पादनमा टेवा पुग्दछ जस्तो लाग्छ ।

१२. नेपाली महिला फुटबलरलाई व्यवसायीक फुटबल खेलेर राम्रो करियर बनाउन कत्तीको सजिलो देख्नुहुन्छ ?

-कुनै पनी काम नगरेपछि असम्भव भन्ने कुरा केहि पनि छैन् । सबै कुरा गरेर त हुने हो होईनर त्यसैले कोसिश गर्नु पर्यो कोसिश नै नगरिकन त कहाँ बाट सफल भईन्छ र त्यसैले म त भन्छु, कोसिश गरौं सबै कुरा सम्भव छ । कुरा आयो नेपालमा महिला खेलाडीमा फुटबलमा लागेर करियर बनाउनेको , अहिलेको सन्दर्भलाई हेर्ने हो भने त अली गारो नै छ , तर पछिल्लो समय जसरी महिला फुटबलको पनी चर्चा चुलिदै गएको छ , यसले गर्दा भविश्यमा महिला खेलाडीको पनी फुटबलमा राम्रै करियर देख्छु म चाँहि !

१३.उसो भए महिला खेलाडीहरुको नेपालमा फुटबलको क्षेत्रमा लागेर करियर बन्न सक्ने सम्भावना छ हैन त?

-आउदा दिनमा छ भनम !

१४.नेपालमा “महिला फुटबल खेलाडीका लागि वर्षमा जम्मा दुईवटा नियमित राष्ट्रिय लिग हुन्छन्। प्रशिक्षण पनि नियमति छैन् भन्ने गुनासो पनी सुनिन्छ, यस बिषयमा के भन्नुहुन्छ ?

-नेपालमा महिला खेलाडीका लागि वर्षमा २ वटा मात्र राष्ट्रिय लिग हुने गरेको छ । यसलाई बढाईनु पर्छ । पुरुषको जस्तै मोफसलमा हुने ठुलो धनराशीको गोल्डकप हुन जरुरी छ । महिला खेलाडीका लागि खानपिनको डाईट देखि लिएर सबै कुरा हुन जरुरत थान्दछु । अब आयो प्रशिक्षक, कुनै पनी कुरा गर्नु पुर्व त्यो कामको बारेमा सिकाउने गुरु नै छैन्, भने कसरि सिक्ने अब तपाई आफैं भन्नुस ड्राईभर बिना गाडी चल्छ त ? त्यसैले महिला खेलाडीका लागि दक्ष प्रशिक्षक हुन अती आवश्यक छ । प्रशिक्षक राम्रो भएर मात्र पनि काम छैन् यसको लागि सहि निती हुनुपर्छ , खेलकुदको क्षेत्रमा राजनीतीक हुनुहुदैन् ।

१५.”पुर्णीमा जी” महिला फुटबललाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका विभागीय टिमले मात्र जोगाइ राखेको देखिन्छ, फुटबलका अन्य विभन्न क्लवहरु पनी छन् , महिला फुटबलमा क्लवहरुको महत्व कत्तीको देख्नुहुन्छ ।

-यसमा दुईमत नै छैन, जसरी नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको विभागीय टिमले महिला फुटबलको शाख जोगाएको छ, भन्ने कुरामा यस कुरामा सर्हानीय व्यक्त गर्नै पर्छ । मलाई लाग्छ सायद यी तिनवटा विभागीय टिमले महिला फुटबलको शाख नजोगाएको भए आज महिला फुटबल यहाँ सम्म पुग्ने थिएन् । त्यसैले जसरी विभागीय टिमले महिला खेलाडी उत्पादन गर्दछ, त्यस्तै हाल नेपालमा भएका क्लवहरुले पनी महिला खेलाडी उत्पादनमा ध्यान दिन जरुरी छ ।

महिला खेलाडीलाई क्लवबाट व्यवसायीक तरिकाले खेल्ने वातावरण सिर्जना गरेमा अन्य सयौंको संख्यामा महिला खेलाडी उत्पादन गर्न सहयोग पुग्छ जस्तो लाग्छ । किनकि विभागिय टिमबाट खेल्नको लागि सुरुमा त छनोट हुन गारो छ । पावर भएकाहरु मात्र छनोट हुने प्रवद्धि बढी छ नेपालमा, यसले गर्दा राम्रा खेलाडीले अवसर नपाएर वन्चीत भएका हुन्छन् । त्यसैले महिला खेलाडी उत्पादनका लागी क्लवको महत्वपुर्ण भुमिका रहेको छ ।

१६. अहिले सम्म प्रायः पुरुषहरूकै खेलको चर्चा हुने गर्छ र दर्शक पनि उनीहरूकै खेलमा बाक्लो उपस्थीती हुने गर्छ।तर यहाँले फुटबल खेलिसकेपछि नेपाली समाजले महिला फुटबललाई हेर्ने दृष्टिकोण कस्तो पाउनुभयो ?

-हाम्रो नेपाली समाजमा अझै पनी खेलकुद सम्बन्धी शिक्षाको पहुँच पुगेको छैन् । किनकि खेलकुदलाई हेर्ने दृष्टिकोण एकदमै फरक छ, नेपाली समाजमा ! त्यो पनी स्कुल पढ्दा कसको परिवारले खेल्न दिन्छ र , त्यसैमा खेली हाल्यौ भने पनी कती गाली खानुपर्छ कतिले त परिवारबाट कुटाई नै खान्छन् । बाल्यकालमा घर परिवारको डर त्रास र भागि भागि नखेलेको सायद कुनै खेलाडी छैनन् होला ।

यसर्थ समाजले हेर्ने दृष्टिकोण पनी एकदमै फरक हुन्छ। फलनाको छोरीले यस्तो खेल्छ,उस्तो गर्छ यस्तै त हो नी गाँउघर तिरको कुरा, समाजका छरछिमेकीले बारम्बार भन्ने गर्छन, त्यस्तो खेल खेलेर के हुन्छ, छोरी मान्छेले, त्यस्तो गर्न हुन्न छोरी मान्छेले फुटबल खेलेर के हुन्छ भन्ने खालको तर्क गर्छन् । त्यसैले महिलाको खेल प्रती हेर्ने दृष्टिकोण गाउँघरतिर अझै परिवर्तन भएको छैन् । यी तथनाम चुनौतीको बाबजुँद पनि म मेरो फुटबल खेलेरै सपना पुरा गर्ने अठोटका साथ लागिपरिरहेको छु । एकदिन राष्ट्रको जर्सी लगाएर राष्ट्रिय टिममा रहेर खेल्न दौरानमा लागि परेको छु ।

१७. धेरै त्यस्ता महिला खेलाडी होलान्, जो परिवार र समाजको हेर्ने दृष्टिकोणबाट पछि परेका छन् , उनीहरुका निम्ती के भन्नुहुन्छ ?

-तपाईको ईच्छा छ, भने त्यो प्रती लागिरहनुहोस् एकदिन अवश्य सफल भईन्छ भन्छु, किनकि जहाँ ईच्छा शक्ती छ,त्यहाँ समस्याको उपाय अपनाएर अगाडी बढ्नु पर्छ । आफ्नो रुचीलाई कसैले नकार्दैमा त्यो आफूले गर्न चाहेको उद्देश्यलाई छोड्न हुन्न भन्छु ।

१८.अब यहाँलाई अन्तीम प्रश्न “पुर्णीमा” जी अन्त्यमा समस्त महिला खेलकुद पक्षको विकासको स्तर उन्नतीका लागी मैले यहाँलाई सोध्न छुट्याएका प्रश्न भए, र यहाँले भन्नै पर्ने छन् भने बताईदिनुहोस् न ?

-मैले भन्नु पर्ने कुरा लगभग भनिसके त्यहि हो । महिला फुटबलको विकाशका लागि सरकारले लगानी बढाउनु पर्छ । राष्ट्रिय लिगका खेलहरु वर्षमा दुई पटक नभई यसलाई बढाउनु पर्छ । मोफसलमा हुने ठुला धनराशीका गोल्डकपहरु महिला खेलाडीका लागी पनी हुन आवश्यक छ । राष्ट्रिय टिम छनोटका बेला हाम्रा लाई भन्दा राम्रालाई प्राथमीकतामा राखी निश्पक्ष तरिकाले छनोट गर्नु पर्छ ।महिला खेलाडीलाई खेल सम्बन्धी चाहिने आवश्यक सुविधा सम्पन्न र सामाग्रीहरु लगायत खेल्ने खेल मैदान निर्माण गर्नुपर्छ । यति मात्र नभईकन निती नियमहरु पनी सहि बनाएमा नेपाली महिला फुटबलको विकाश गर्न सम्भव छ, जस्तो लाग्छ ।

१९.हुन्छ,”पुर्णीमा जी” यती व्यस्त समयको बाबजुँद पनी हामीलाई कुराकानी गर्ने समय दिनुभयो, त्यसको लागी यहाँलाई धेरै धेरै धन्यवाद छ ।
-सर्वप्रथम त यहाँलाई पनी मेरो अन्तर हृदयबाटै धेरै धेरै धन्यवाद छ। मेरो मन भित्रको कुरा तपाईको मिडिया मार्फत सम्बन्धीत निकाय लगायत सबै सामु राख्ने मौका दिनु भएकोमा यहाँलाई फेरी पनी धन्यवाद दिन चाहान्छु ।

      धन्यवाद !!