राजपाले सरकारसँगको सहमतिमै स्वतन्त्र उम्मेदवार दिएको गृहमन्त्री शर्माको भनाई

बुटवल, असार, ५-

स्थानीय तहको निर्वाचनको विषयमा  आज बुटवलमा सुरक्षा गोष्ठी सम्पन्न भएको छ ।गृहमन्त्री जर्नादन शर्माको उपस्थितिमा रुपन्देहीसहित ६ जिल्लाका प्रमुखहरुको बैठक गरिएको हो ।

बैठकमा गृहसचिव लोकदर्शन रेग्मी, निर्वाचन आयुक्त सुधीरकुमार शाह, पश्चिमाञ्चल क्षेत्रीय प्रशासक बेगेन्द्र शर्मा पौडेल, नेपाली सेनाका रथी बलदेवराज महत, मुख्य अनुसन्धान निर्देशक दिलिपराज रेग्मीलगायतको सहभागिता रहेको थियो ।

बैठकपछि गृहमन्त्री शर्माले आइतबार मनोनयनकाक्रममा कपिलवस्तुमा भएको घटनाको सूक्ष्मरुपमा अनुसन्धान भइरहेको भन्दै त्यस्ता घटना दोहोरिन नदिन सुरक्षा संयन्त्रलाई चुस्त राखिने जानकारी दिनुभयो ।

फरक प्रसंगमा उनले प्रदेश नम्बर–२ को निर्वाचन सारिएपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अरु प्रदेशमा स्वतन्त्ररुपमा मनोनयन दर्ता गर्ने सहमति भएको बताउनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको सहमतिकै आधारमा राजपाले निर्वाचनमा मनोनयन दर्ता गराएको उहॉले स्पस्ट पार्नुभयो ।

सुरक्षा बैठकमा रुपन्देही, नवलपरासी, कपिलवस्तु, गुल्मी, अर्घाखाची र पाल्पाका प्रमुख जिल्ला अधिकारी, प्रहरी र सशस्त्र प्रहरी प्रमुखको सहभागिता रहेको थियो ।