छापा नेपाली विद्यार्थीले बनाए मंगलग्रहको उपग्रहमा बसोबासको नमूना

काठमाडौं,असार ८-

मंगलग्रहको उपग्रहमा अन्तरिक्ष यात्री बसोबासका लागि नमूना तयार गर्ने प्रतिस्पर्धामा नेपाली विद्यार्थीहरू विजयी भएका छन्। मंगलग्रहको उपग्रह ‘फोबोस’ मा अन्तरिक्ष यात्री बस्न सक्ने वासस्थानको नमूना तयार गर्न अन्डरग्य्राजुएट तहका इन्जिनियरिङ विद्यार्थीबीच संसारभर गराइएको प्रतिस्पर्धामा नेपाली विद्यार्थीको समूह विजेता तीनमा छनोट भएको हो।

अमेरिकन इन्स्टिच्युट अफ एरोनटिक्स एन्ड एस्ट्रोनटिक्स (एआइएए) ले आयोजना गरेको प्रतिस्पर्धामा चार नेपाली विद्यार्थी (थापाथली इन्जिनियरिङ क्याम्पस र पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थी) को संयुक्त समूह छनोट भएको हो।

समूहमा थापाथली इन्जिनियरिङ क्याम्पसका राजन भण्डारी र सञ्जीव अधिकारी एवं पुल्चोक इन्जिनियरिङ क्याम्पसका राजकुमार गुरुङ र अर्जुन मगर सम्मिलित छन्।

प्रतियोगितामा सहभागी हुने नेपाली विद्यार्थीको समूहले ६ वटा सिलिन्डर आकारका नमूनाको डिजाइन तयार गरेको छ। समूहका सदस्य राजन भण्डारीले प्रत्येक सिलिन्डर १३ दशमलव ७ मिटर लम्बाई र ६ दशमलव ७ मिटर फराकिलो हुने बताए। एउटा सिलिन्डर बसोवासका लागि प्रयोग हुनेछ जसमा ६ जना बस्न सक्नेछन्।

त्यसमा शौचालय, स्नानगृह, भान्साघरका साथै आराम तथा शारीरिक अभ्यासका लागि समेत स्थान छुट्ट्याइएको छ। दोस्रो सिलिन्डरमा मेडिकल र एस्ट्रोबोयोलोजी ल्याब हुनेछ। तेस्रो र चौथो सिलिन्डरमा अन्न उत्पादन गर्न सकिनेछ जहाँ धान, भटमास र सागको खेती हुनेछ।

पाँचौं सिलिन्डरमा अभ्यास कक्ष हुने छ भने छैटौं सिलिन्डरलाई स्टोरका रूपमा प्रयोग गर्न सकिन्छ। भण्डारीका अनुसार हरेक सिलिन्डरको चाप र ताप नियन्त्रण गरिएको छ।अन्नपूर्ण पोस्ट