१०४ स्थानको मतपरिणाम सार्वजनिक

कांग्रेस ३२ सिट सहित अग्रस्थानमा

काठमाडौं, असोज ७-

स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा भएको निर्वाचनमा १०४ स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।अहिलेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस ३२, संघीय समाजवादी फोरम २०, नेकपा माओवादी केन्द्र १८ र राष्ट्रिय जनता पार्टी १८ स्थानीय तहमा विजयी भएका छन् ।

त्यसैगरी नेकपा एमाले १२, नेपाल लोकतान्त्रिक फोरम ३, नयाँ शक्ति पार्टी एक र नेपाली जनता दल एक स्थानीय तहमा विजयी भएका छन् ।पछिल्लो परिणामअनुसार सर्लाहीको हरिऔन नगरपालिकाको मेयरमा नेकपा एमालेका गणेश प्रसाईं ६०५४ मत प्राप्त गरी विजयी भए । उपमेयरमा पनि एमालेकै रेणुका पौडेल ५९९८ मत प्राप्त गरी विजयीभइन ।

पर्साको जगनाथपुर गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका जालिम मियाँ मन्सुरी ३४०१ मत प्राप्त गरी विजयी भएका छन् । उपाध्यक्षमा संघीय समाजवादीकी बिस्मिल्लाह खातुन ३१४१ मत ल्याएर विजयी भइन ।

सर्लाहीको गोडैटा नगरपालिकाको मेयरमा राजपाका देवेन्द्रकुमार यादव ३९०२ मत ल्याएर विजयी भएका छन् । उपमेयरमा राजपाकै अन्जना कुसहवा ४९७५ मत ल्याएर विजयी भएकी छिन ।महोत्तरीको जलेश्वर नगरपालिकाको मेयरमा राजपाका रामशंकर मिश्र ५१८० मत प्राप्त गरी विजयी भएका छन् भने उपमेयरमा पनि राजपाकै मुनसुनदेवी महतो ४५६६ मत प्राप्त गरी विजयी भइन । ।