म्यादी प्रहरीको तालिम शुरु

इन्द्र कार्की/

महेन्द्रनगर,कार्तिक,१४-    

प्रतिनिधि र प्रदेश सभाका लागि आगामी मंसिर २१ गते हुने निर्वाचनमा थप सुरक्षाका लागि कञ्चनपुरमा भर्ना गरिएका म्यादी प्रहरीको तालिम शुरु भएको छ । तालिम सोमवार देखि शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला सदरमुकाम महेन्द्रनगर, बेलौरी र कृष्णपुरमा गरी तीन ठाउँमा तालिम सञ्चालन गरिएको छ ।

कञ्चनपुरका लागि १ हजार १२२ जना पुरुष ३५० जना महिला गरि १ हजार ४७२ म्यादी प्रहरी भर्ना गरिएका छन् । नेपाल प्रहरीको महेन्द्रनगर गुल्ममा ८ सय, सुदुर पश्चिम दङ्गा प्रहरी कृष्णपुरमा १९८ जना र इलाका प्रहरी कार्यालय वेलौरीमा १७४ जना म्यादीलाई तालिममा समावेश गरिएको छ ।

म्यादी प्रहरीलाई पनि प्रहरी जस्तै जिम्मेवार बनाउनका लागि प्रहरीले तालिम दिने र तालिम लगतै म्यादी प्रहरीलाई कार्य क्षेत्रमा खटाइने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश बहादुर चन्दले बताए । यस पटक कञ्चनपुरमा स्थानिय तह निर्वाचन भन्दा ४१५ म्यादी थप गरिएका छन् ।

प्रतिनिधि सभाका लागि ३ र प्रदेश सभाका लागि ६ निर्वाचन क्षेत्र तोकिएको कञ्चनपुरमा थप सुरक्षाका लागि म्यादी प्रहरी भर्ना गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ । म्यादी प्रहरीमा युवा युवतीहरुको बढ्दो आर्कषण रहेको छ । कञ्चनपुरमा स्थानिय तह निर्वाचनका वेला ३ हजार ४९५ र हाल ४ हजार ८९८ ले दरखास्त दिएका थिए ।