कञ्चनपुरमा ७६ जनाको उम्मेद्वारी दर्ता

इन्द्र कार्की/

महेन्द्रनगर,कार्तिक,१७-

आउदो मसिंर २१ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि कञ्चनपुरमा स्वतन्त्र र राजनैतिक दलका ७६ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । प्रतिनिधि सभा तर्फ ५ जना स्वतन्त्र सहित २९ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रदेश सभा तर्फका ६ स्थानका लागि ४७ जनाको उम्मेद्वारी दर्ता भएको मुख्य निर्वाचन अधिकुतको कार्यालयले जनाएको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ मा २ जना स्वतन्त्र सहित ९ जना ,क्षेत्र नम्वर २ मा १ जना स्वतन्त्र सहित १० जना र निर्वाचन क्षेत्र नम्वर ३ मा २ जना स्वतन्त्र सहित ९ जनाको उम्मेद्वारी परेको मुख्य निर्वाचन अधिकृत डा.राजेन्द्रकुमार आचार्यले जानकारी दिए । जिल्ला सदरमुकाममा वाजागाजा सहित मनोनयन दर्ता स्थल पुगेका राजनीतिक दलका उम्मेद्वारले आफनो उम्मेदवारी दर्ता गराएका हुन् । वाम गठवन्धन र नेपाली कांग्रेसका उम्मेदवारका विरुद्ध बागी उम्मेद्वारी समेत दिएका छन् ।

बाम गठबन्धन बाट प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा विना मगर ,प्रदेश सभा ‘क’ मा तारालामा तामाङ्ग ‘ख’ मा कुलवीर चौधरी ले उम्मेद्वारी दर्ता गराएका छन् । ‘ख’ मा नेकपा एमालेले मर्यादा विष्टलाई टिकट दिएकोमा उम्मेदवार दर्ताका दिन प्रदेश सभा ‘ख’ मा हेरफेर गरिएको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ मा नरवहादुर धामी , प्रदेश सभा ‘क’ मा महेश जोशी र ‘ख’ मा लाल वहादुर खड्काले उम्मेद्वारी दर्ता गराएका छन् । यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर ३ मा डा.दिपकप्रकाश भटट्, प्रदेश सभा ‘क’ मा प्रकाश रावल र ‘ख’ मा मान बहादुर सुनारले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कांग्रेसका तर्फवाट प्रतिनिधि सभा १ मा दिवानसिंह विष्ट , प्रदेश सभा ‘क’ मा गोपाल गुरुङ्ग र ‘ख’ मा रामलाल राना ले उम्मेद्वारी दिएका छन् । क्षेत्र नम्वर २ मा कांग्रेसका नेता एनपी साउँद ,प्रदेश सभा ‘क’ बाट पुष्करराज ओझा र ख मा बहादुर सिंह थापाको उम्मेदवारी परेको छ ।

यस्तै गरी प्रतिनिधि सभा क्षेत्र नम्वर ३ मा कांग्रेसका नेता रमेश लेखक, प्रदेश सभा ‘क’ मा यज्ञराज जोशी र ‘ख’ मा बेलबहादुर रानाले उम्मेद्वारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

यस्तै कञ्चनपुरमा राष्टिय जनमोर्चा,राप्रपा,नयाँ शक्ति पार्टी,विवेकशील साझा,एकीकृत राप्रपा सहितका साना पार्टीका जम्मा ७६ जना उम्मेद्वारहरुले आफनो उम्मेद्वारी दर्ता गराएका छन् । उम्मेद्वारी दर्ता गर्दै बाम गठबन्धन र नेपाली कांग्रेसका उम्मेदवारहरुले सविधान कार्यान्वयन र मुलुकको सम्वृद्धिका लागि आफनो उम्मेद्वारी रहेको वताएका छन् ।