ओखलढुंगामा दुई हजार लिटर भन्दा बढी अबैध घरेलु मदिरा प्रहरीद्धारा नष्ट

सिर्जना बर्देवा/
ओखलढुंगा मंसिर,५-
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले आज अबैध रुपमा उत्पादन गरि विक्री वितरण गर्दै आएको मदिरालाई नियन्त्रणमा लिई गरि नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आएको विशेष सुचनाको आधारमा सदरमुकाम नजिकैको एकघरमा छापामार्दा दुईहजार लिटर भन्दा बढिको घरेलु मदिरा फेला परेको थियो । सिद्धिचरण नगरपालिका वडा नं. ५ वर्णालुका पासाङ शेर्पाको घरमा छापामार्ने क्रममा उक्त परिमाणको मदिरा भेटिएको हो ।

संघिय प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचन नजिकिए सगै अबैधानिक रुपमा उत्पादन गरि बेचविखन हुदै गरेको घरेलु मदिरा नियन्त्रण अभियानलाई प्रहरीले तिब्रता दिएको छ । विगत केही दिन देखी बजार क्षेत्रका होटल तथा पसलहरुवाट प्रहरीको टोलीले अबैधानिक मदिरा नियन्त्रणमा लिई नष्ट गर्ने कार्यलाई तिब्रता दिएको छ ।

अबैध मदिरा उत्पादन तथा विक्रि वितरणको कार्यलाई नियन्त्रण गर्न प्रहरी सदैव लागि रहेपनि चुनावको बेलामा विशेष अभियान नै सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायव उपरिक्षक अर्जुन प्रसाद तिमल्सीनाले बताउनु भयो । पहिलो पटक भएकोले मदिरालाई नियन्त्रणमा लिई नष्ट गरेर व्यापारीलाई छाडिएको र पुन फेला परेमा आवश्यक कार्वाही प्रकृया अगाडी बढाएर कार्बाही गर्ने पनि उहाँले बताउनुभयो ।

तर व्यापारी पासाङ शेर्पाले भने आफ्नो परिवारको अन्य पेशा केही नभएकोले घर खर्च चलाउन र बच्चाहरुको पढाई खर्च जुटाउन घरेलु मदिरा उत्पादन गर्न बाध्य भएको बताउनु भयो । प्रहरीको टोलीले बेलाबेलामा घरेलु मदिरा उत्पादन र बिक्रि सम्बन्धि जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । चाडवाडको वेलामा हटिया तथा बजार क्षेत्रमा भित्रिने अबैध मदिरालाई नियन्त्रणमा लिई नष्ट गर्दै आएपनि उत्पादन र विक्रि वितरणको कार्यमा कमी आएको भने छैन ।

पटक पटक नियन्त्रणमा लिई नष्ट गरेपनि सदरमुकाम क्षेत्रमा नै यती ठुलो परिमाणमा घरेलु मदिरा एकै स्थानमा भेटिएको भने पहिलो पटक हो । यसैबिच नजिकिदै गरेको चुनावलाई लक्षित गरि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जिल्ला सदरमुकाम ओखलढुङ्गाका होटल व्यबसायीहरुसग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

केही दिन देखी सदरमुकामका होटल तथा पसलहरुमा प्रहरी र प्रशासनको टोलीले अनुगमनको कार्यलाई तिब्रता दिएको छ । अनुगमनका क्रममा केही होटलहरुमा केही कमजोरी पाईएकोले त्यसवाट सबै होटल व्यबसायीहरुलाई सजग गराउन अन्तरक्रिया कार्यक्रमको आयोजना प्रनाउ तिमल्सीनाले जानकारी दिनुभयो ।

अन्तरक्रिया कार्यक्रममा सहभागी होटल व्यबसायीहरुले होटलमा बासबस्न आउने सबै ग्राहकको विवरण राख्ने, अबैध घरेलु मदिरा विक्रि वितरण नगर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । अन्तरक्रियामा होटल सञ्चालन गर्ने क्रममा भएका व्यबसायीका अप्ठ्यारा समस्याहरुको बारेमा भने प्रहरी प्रशासनले ध्यान नदिएको होटल व्यबसायी संघका जिल्ला अध्यक्ष थगेन्द्र राई बताउनु भयो ।