उत्तर कोरियाली राजदूत र प्रचण्ड विच भेटवार्ता

प्रचण्डलाई उत्तर कोरिया भ्रमणको निम्तो

काठमाण्डौ,माघ,७-

नेपालका लागि उत्तर कोरियाली राजदूत किम योङ हाक र प्रचण्ड बिच आज भेटवार्ता भएको छ । किम योङ हाक पेरिसडाँडास्थित माओवादी केन्द्रको कार्यालय पुगेर प्रचण्डलाई उत्तर कोरिया भ्रमणको निम्तो दिनुभएको हो ।

आगामी सेप्टेम्बर महिनामा कोरियन श्रमिक पार्टीको ७० औं पार्टी स्थापना दिवस आयोजना गरिएको जानकारी दिँदै कार्यक्रममा आतिथ्यताका लागि राजदूत हाकले प्रचण्डलाई निम्तो दिनुभएको हो । जवाफमा प्रचण्डले पार्टीको तर्फबाट उच्चस्तरीय प्रतिनिधित्व हुने बताउनु भएको थियो ।

राजदूत हाकले वाम गठबन्धन बनाएर निर्वाचनमा विजय हासिल गरेकोमा अध्यक्ष प्रचण्डलाई बधाईसमेत दिनुभएको थियो । उत्तर र दक्षिण कोरियाका जनता राष्ट्रिय एकता र एकीकरणको पक्षमा भएको जानकारी दिँदै नेपालमा प्रचण्डको नेतृत्वमा चलेको युद्धले एकात्मक सत्ताको अन्त्य र गणतन्त्रको स्थापना गरेकोमा खुसी व्यक्त गरेको दावी प्रचण्डको सचिवालयले गरेको छ।

उत्तर कोरियाली राजदूतसँग प्रचण्डले उत्तर कोरियाका संस्थापक नेता किम इल सुङको सङ्घर्षको गाथाबारे आफू जानकार रहेको बताउँदै नेपालमा शान्ति प्रक्रिया, संविधान निर्माण, संविधान कार्यान्वयनमा दलहरु मिलेर सफलता हासिल गरेको जानकारी गराउनु भएको थियो । 

आफूलाई भेट्न आएका उत्तर कोरियाली राजदूतलाई प्रचण्डले राजनीतिक स्थिरता र आर्थिक सम्बृद्धिका लागि एमाले–माओवादी केन्द्रबीचको एकता छिट्टै टुङ्गोम पुग्न लागेको जानकारी पनि दिनुभएको थियो ।