विश्व क्रिकेट लिगमा आज नेपाल र युएई भिड्ने

दुबै टोली दोस्रो जितको खोजीमा

काठमाडौं,माघ,२८-

आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ क्रिकेटमा आज नेपालले संयुक्त अरब ईमिरेट्स युएईको सामना गर्दैछ ।प्रतियोगितामा सुरुवाती दुई खेलमध्ये एकमा जित र एकमा हार ब्यहोरेको नेपाल आज दोस्रो जितको खोजीमा छ ।

प्रतियोगिताको सुरुवाती खेलमा आयोजक नामिबियालाई हराएको नेपाल दोस्रो खेलमा भने ओमनसँग ६ विकेटले पराजित भएको थियो ।उता युएईले भने पहिलो खेलमा केन्यालाई २ सय १८ रनले हराउँदा दोस्रो खेलमा क्यानाडासँग २३ रनले हारेको थियो ।

दुई खेलबाट समान २-२ अंक जोडेको युएई र नेपाल रन रेटको आधारमा क्रमशः दोस्रो तथा तेस्रो स्थानमा छन् ।आजको खेल जित्ने टोली शिर्ष दुई भित्रै रहने संभावना बलियो हुनेछ ।

नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे नामिबियाको विन्डहकमा सुरु हुनेछ । प्रतियोगितामा सुरुवाती दुई खेल जित्दै क्यानाडा ४ अंकसहित शीर्ष स्थानमा रहेको छ ।