मृतकको शव पहिचान हुन सकेन

काठमाडाैं,चैत,१-

अवतरणका क्रममा सोमबार त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको यूएस बंगला विमानमा ज्यान गुमाउने ४९ यात्रुको शव अझै पहिचान हुन सकेको छैन ।

सबै शव पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा राखिएका छन् । त्यहाँका प्राध्यापक हरिहर वस्तीले बुधबार साँझसम्म २५ वटा शव हेसरसकिएको तर पहिचान गर्न नसकिएको बताए ।

‘पोकामा राखिएका शव जाँच गर्दैछौं । हेरेर पहिचान गर्न सकिने अवस्थामा शव छैनन् । एउटै शवलाई जाँच्न, मुचुल्का उठाउन दुई अढाई घन्टासम्म समय लागिरहेको छ,’ वरिष्ठ चिकित्सक वस्तीले भने ।

उनले अधिकांश शवको छालामात्र नभई हड्डीसम्म जलेको बताए । अनुहार वा बाहिरी संरचनाबाट पहिचान गर्न नसकिने भएपछि चिकित्सकहरुले दातको बनावट, फिलिङ्ग, आकार, शरिरका अंगमा लगाइएका गरगहना, अपांगता लगायतबाट पहिचान गर्न सक्छ ।

‘यही तरिकाले एक हप्ता लाग्न सक्छ तर डिएनए परिक्षण नै गर्नुपर्ने अवस्था आइलागे एक महिनासम्म समय लाग्न सक्नेछ,’ फरेन्सीक विज्ञान विशेषज्ञ वस्तीले भने ।

बंगलादेशको राजधानी ढाकाबाट ६७ जना यात्रु र चालक दलका चार सदस्यसहित ७१ जना सवार बोकेको क्यानेडियन बमबार्डियर डयास एट क्यू फोर हन्ड्रेड विमान दुर्घटनामा ४९ को मृत्यु भएको थियो । आजको कान्तिपुरमा खबर छ ।