प्रचण्डले मोदीसंगको भेटमा भने : सिमामा धेरै ज्यादती भयो सुरक्षाकर्मीलाई सम्झाउनुहोस्

काठमाण्डौं,बैशाख,२९-
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सीमा क्षेत्रमा भारतीय ज्यादती धेरै भएकोले भारत सरकारले तत्काल कदम चाल्नुपर्ने बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा हिजो साँझ आयोजना गरिएको रात्रीभोजका अवसरमा अध्यक्ष प्रचण्डले उक्त कुरा राख्नु भएको हो ।
 
अनौपचारिक भेटका अवसरमा प्रचण्डले सीमा क्षेत्रको समस्या तत्काल अन्त्य नभए गत वर्षको जस्तो गोविन्द गौतम घटना दोहोरिने सक्नेतर्फ सचेत गराएको बैठकमा सहभागी श्रोतले बताएको छ । 
 
“कञ्चनपुरको सीमा क्षेत्रमा तनाव अन्त्य हुन सकेको छैन, जनता भडकिन सक्छन्, फेरी गोविन्द गौतम घटना हुनसक्छ।” प्रचण्डले भन्नुभयो,  “स्थायी समाधान खोज्नु पर्यो ।”आफूले सरकारमा छँदा सीमा सुरक्षाको विषयलाई गम्भीरतापूर्वक पहल गरेको स्मरण गराउँदै प्रचण्डले सीमा सर्भेको काम तत्काल सम्पन्न गर्नुपर्ने र दुबै देशबीचको सम्बन्धलाई सम्मानजनक ढंगले अझै विकास गर्नुपर्ने बताएको श्रोतले जनायो ।
 
उक्त अवसरमा प्रचण्डले भारतसँगको विगतको सम्बन्धमा ऐतिहासिक परिवर्तन गर्नुपर्नेमा समेत जोड दिनुभएको थियो । दुबै छिमेकीहरु तीब्र आर्थिक विकासतर्फ अघि बढेको बेला नेपालले समेत दुबैका बीच पुलको काम गर्न सक्ने प्रचण्डको भनाई थियो । 
 
नेपाल भारतवादी या चीनवादी भनेर प्रचार गरिनेतर्फ संकेत गर्दै प्रचण्डले नयाँ संविधानको कार्यान्वयनसँगै नेपालले दुबै छिमेकीबीच सन्तुलित सम्बन्धका आधारमा समृद्धि हासिल गर्न खोजेको बताउनु भएको थियो ।