नेपाल र बंगलादेश सेमिफाइनलको लागि आज भिड्ने

 बंगलादेश,भदौ,२३-

साफ सुजुकी कप फुटबलअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा शनिबार आज नेपालले आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

सेमिफाइनलको ढोकाको रुपमा समेत रहेको यो खेल नेपालका लागि गर या मरको स्थितिमा छ । बंगलादेशलाई पराजित गरे नेपाल सेमिफाइनल पुग्नेछ भने पराजित भएमा बाहिरिनु पर्ने छ ।बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा स्थानीय समयअनुसार आज बेलुका ७ बजे खेल सुरु हुनेछ ।

नेपालका नियमित कप्तान विराज महर्जनले बंगलादेशसँगको खेल गर या मरको स्थितिमा रहेको बताएका छन् । उनले भने, ‘हाम्रो लागि गर या मरको स्थितिमा छ । हामीले नसक्ने भन्ने होइन । बंगलादेशलाई पराजित गर्दै हामी सेमिफाइनल पुग्ने लक्ष्य बनाएका छौ ।

समूह चरणका दुवै खेलमा शतप्रतिशत जित हात पार्दै बंगलादेश शीर्ष स्थानमा रहेको छ । बंगलादेशले आफ्नो पहिलो खेलमा भुटानलाई २-० गोलअन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा पाकिस्तानमाथि १-० को कठिन जित दर्ता गरेको थियो ।

यता, दोस्रो स्थानमा रहेको नेपालको एक खेलमा जित र एक खेलमा हारसहित ३ अंक छ । नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग २-१ गोल अन्तरले हार ब्यहोरेको थियो भने दोस्रो खेलमा भुटानलाई ४-० गोलले पराजित गरेको थियो ।

सेमिफाइनल पुग्नका लागि बंगलादेश, नेपाल र पाकिस्तानबीच निकै कडा प्रतिस्पर्धा हुने देखिएको छ । शनिबार दिउँसो स्थानीय समयअनुसार ४ बजे पाकिस्तानले समूह चरणको आफ्नो अन्तिम खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

भुटानलाई फराकिलो अन्तरले हराएमा पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना निकै बढी हुन्छ । तर, नेपाल र बंगलादेशबीचको खेलमा भर पर्नुपर्छ । यद्यपि पाकिस्तान भुटानसँग पराजित भए सेमिफाइनल पुग्ने सम्भावना कमजोर हुनेछ ।

त्यसपछि लगतै नेपाल र बंगलादेशबीच हुने खेलले समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने टिमको छिनोफानो हुनेछ । नेपाल र बंगलादेशले भुटान र पाकिस्तानको खेलको नतिजालाई हेरेर सेमिफाइनल पुग्ने रणनीतिको साथ खेल्नेछन् ।

पाकिस्तान भुटानसँग पराजित भए बंगलादेश स्वतः एक खेल खेल्नुअघि नै सेमिफाइनल पुग्नेछ भने नेपालको लागि पनि फाइदा पुग्नेछ ।

साफ च्याम्पियनसिपमा नेपाल र बंगलादेशबीचमा अहिलेसम्म ६ खेलमा प्रतिस्पर्धा भएको छ । जुन खेलमा नेपालले २ पटक र बंगलादेशले ४ पटक जितेका छन् । साफ च्याम्पियनसिपमा बंगलादेशविरुद्ध पछिल्लो समयमा नेपाल हावी हुँदै आएको छ । साभार अनलाई खबरबाट