कैलालीको लम्कीमा एक युवकले गरे आफ्नै बुवा र ठूलोबुवाको हत्या

कैलाली,मंसिर,२१-

कैलालीको लम्की–चुहा नगरपालिका–४, बलियागाउँमा बुवा र ठूलोबुवाको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।घरायसी विवादमा २९ वर्षीय जहवार चौधरीले आफ्ना बुवा र ठूलाबुवाको हत्या गरेको प्रहरीले जनाएको छ ।

जहवारका ५५ वर्षीय बुवा चक्रा थारु र ठूलोबुवा ६० वर्षीय पल्टु थारुको घटनास्थलमै ज्यान गएको हो ।जहवारकी श्रीमती माइत गएको र आफूलाई जानकारी नगराइ माइत पठाएको भन्दै उनले बिहीबार राति ११ बजेतिर काठको खन्तीले बुवा, ठूलाबुवा र आमालाई ढोका थुनेर हानेको प्रहरीले जनाएको छ ।

जहवारकी ५० वर्षीया आमा दीलबहाडीदेवी चौधरी घाइते भएकी छन् । उनको टाउको र बायाँ कानमा चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी हरिबहादुर वलीले जानकारी दिनुभयो ।

घाइते दीलबहाडीदेवीको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ । प्रहरीले जहवारलाई घरबाटै पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालयमा राखिएको छ । मृतकहरुको शव पोस्टमार्टमका लागि टीकापुर अस्पताल लगिएको प्रहरीले जनाएको छ । ईमेजखबरबाट