काठमाडौंमा गोली हानेर अभियुक्त समातियो

काठमाडौं,मंसिर,२१-

महानगरीय अपराध महाशाखा काठमाडौंले डकैती मुुद्दामा फरार अभियुक्तलाई पक्राउ गरेको छ ।महाशाखाको टोलीले केही समयअगाडि इटहरीमा रहेको आइएमइका कर्मचारीलाई पेस्तोल देखाएर रु तीन लाख लुटी फरार रहेका इटहरी नगरपालिका सुनसरीका राजन लिम्बूलाई शुक्रबार दिउँसो धोवीखोला, कालोपुलबाट पक्राउ गरेको हो ।

महाशाखाका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले कर्तव्य ज्यान र डकैती मुद्दामा फरार रहेका लिम्बूलाई पक्राउ गर्न खोज्दा उनले पेस्तोल देखाएर भाग्न खोजेकाले बाध्य भएर प्रहरीले एक राउन्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

लिम्बूको अवस्था सामान्य रहेको र अहिले वीर अस्पतालमा उनको उपचार भइरहेकोे छ ।विभिन्न घटनामा संलग्न लिम्बूको यसअघि महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंमा ६ ओटा उजुरी परेको थियो । सो उजुरीका आधारमा लिम्बूलाई नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ । रासस