गायक महेन्द्र सेढाईको नयाँ गीत “ए कान्छी”को मेयर राणाद्वारा विमोचन

नेपालगन्ज,जेष्ठ ,२०-


लोकप्रिय गायक महेन्द्र सेढाईको नयाँ गीत “ए कान्छी” को सोमबार नेपालगन्जमा एक कार्यक्रमकाबिच विमोचन गरिएको छ।

करिव एक दशक बढी आफ्नो अमुल्य समय सांगीतिक क्षेत्रमा व्यतीत गरेका गायक सेढाईको नयाँ गीत “ए कान्छी” नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाद्वारा नेपालगन्जको स्वस्तिक कटेजमा गरिएको हो।

गायक सेढाईको शब्द ,संगीत तथा सेढाईकै र पुर्णिमा लामाको स्वर रहेको उक्त गीत
अनौपचारिक रुपमा आइतबार सङ्स नेपाल युटुव च्यानलबाट सार्वजनिक भएता पनि औपचारिक रुपमा सोमबार मेयर राणाले प्रोजेक्टरमा गीतको म्युजिक भिडियोलाई प्ले गरि विमोचन गर्नुभएको हो।

गीत विमोचन गर्दै मेयर राणाले भन्नुभयो ,”सर्वप्रथम त आफ्नै क्षेत्रका भाइ महेन्द्र लगायतको टिमले बजारमा ल्याउनु भएको यति मीठो गीत विमोचन गर्न पाउँदा मलाई एकदम खुसी लाग्यो। नेपालगन्जबाट सांगीतिक क्षेत्रमा संघर्ष गरिरहेका सम्पुर्णलाई उपमहानगरपालिकाले सदैव हौसला एवम सम्मान व्यक्त गर्दछ। अझै आगामी दिनहरुमा यति मीठो गीत निर्माण गर्ने सम्पुर्ण टिमहरुलाई प्रगतिको कामना गर्दछु। “

नेपालगन्जका पर्यटकीय क्षेत्रहरूलाई समेटेर ,नेपालगन्जको मौलिक संस्कृतिलाई झल्काउने तथा यहाँका रमणीय स्थलहरुलाई समेट्ने गरि एउटा मीठो गीत बजारमा ल्याउनु पर्यो भनी गायक सेढाईलाई मेयर राणाले आग्रह समेत गर्नुभएको थियो।

नदि किनार बगर, बिहानीको झुल्का पर्छ, सरर सोल्टिनी , यो मौसम यी फुलहरु लगायत करिव तीन दर्जन बढी गीतमा आफ्नो सुमधुर आवाज दिइसकेका गायक सेढाईले आफ्नै शब्द संगीतमा नयाँ गीत “ए कान्छी” बजारमा ल्याएको बताउनु भयो। आफ्नो नयाँ गीतलाई दर्शक स्रोता सामु पुर्याउनको लागि मिडियाको ठुलो हात रहेको र मिडियाकर्मिहरुलाई सहयोग गर्न समेत गायक सेढाईले आग्रह गर्नुभएको थियो।

विमोचन कार्यक्रममा नृत्य निर्देशक राकेश गुरुङ , विष्णु शाही , गायक प्रमोद डिजी, लगायत विभिन्न मिडियाका मिडियाकर्मिहरुको उपस्थिति रहेको थियो। विमोचनका क्रममा गायक प्रमोद डिजीले नयाँ गीतको सफलताको लागि गीतको सम्पुर्ण युनिटलाई बधाई ज्ञापन गर्नुभएको थियो।

दैलेखका विभिन्न आकर्षक अनि रमणीय ठाउँहरुमा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोलाई अहिलेका चर्चित अनि व्यस्त निर्देशक नवराज सुवेदीले निर्देशन गर्नुभएको छ। त्यस्तै दिनेश वलीको छायांकन अनि सम्पादन रहेको उक्त गीतको म्युजिक भिडियोमा नव मोडल पुजा पाठक र चन्द्र एस सीले न्याय दिएर अभिनय गर्नुभएको छ।

पुजा र चन्द्र म्युजिक फिल्डका लागि नयाँ भएपनी उत्कृष्ट एवम अनुशासित ढंगले भिडियोमा अभिनय गरेको निर्देशक सुवेदीले बताउनु भयो। नियमित मिहेनत र अभ्यास गर्न सके पुजा र चन्द्रको म्युजिक फिल्डमा राम्रो भविस्य भएको पनि निर्देशक सुवेदीले जानकारी दिनुभयो।मेकअपमा सिर्जना शाहले सहयोग गर्नुभएको थियो।

गीतको पूरा भिडियो हेर्नुस..