मटेहियामा मंसिर २७ गते दुईपक्षबिच भएको झडपमा घाइतको उपचारको क्रममा निधन

बाँके,पुस ४-बाँकेको मटेहियामा मंसिर २७ गते दुईपक्षबिच भएको झडपमा घाइते भएका एक जनाको उपचारको क्रममा निधन भएको छ । लक्ष्मणपुर–५ का मौलाना बजहुल कम्मर खाँको काठमाडौंको शिक्षण अस्पतालमा आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी राईले जानकारी दिनुभयो । यसअघि यो घटनामा नरैनापुर–३ का मेनेजर खानको शिक्षण अस्पताल नेपालगञ्जमा उपचारको क्रममा ज्यान गएको थियो । घटनामा १२ जना घाइते भएकोमा दुई जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बाँकेको राप्तीपारी सहित नेपालगञ्जमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । गएको सोमबार मोहम्मद डे पर्व मनाउने क्रममा राप्तीपारी मटेहिया गाविसमा स्थानीय व्यक्तिहरुबिच विवाद सिर्जना भई दुवैतर्फका केही व्यक्ति घाइते भएका थिए । बाँकेमा क्रियाशिल धर्मगुरु र अधिकारकर्मीले स्थितिलाई सामान्य बनाई सामाजिक सद्भाव र सहिष्णुता कायम राख्न सबैसँग आग्रह गर्दै आएका छन् । यसैबिच घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेकप्रसाद राईले घटनामा संलग्न अरुको खोजी भइरहेको जानकारी दिनुभयो ।