चिनियाँ राष्ट्रपति सी जिनपिङ आज नेपाल आउँदै

काठमाडौं,असोज,२५-

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चीनका राष्ट्रपति सी चिनफिङ दुईदिने नेपाल भ्रमणका क्रममा शनिबार अपराह्न काठमाडौं आउँदै हुनुहुन्छ । २३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण हुन लागेको हो ।

भारत भ्रमणमा रहेका सी त्यतैबाट शनिबार अपराह्न ४:३० देखि ५:३० बजेसम्ममा विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्रिभुवन विमास्थलमा सीलाई उच्च सम्मानका साथ स्वागत गर्ने तयारी सरकारले गरेको छ ।शनिबार काठमाडौंमा विशेष विमानबाट अवतरण गरेपछि सीले केहीबेर विश्राम लिने र त्यसपछि भेटघाटका कार्यक्रमलाई तीव्रता दिने कार्यतालिका रहेको छ ।त्यसपछि साँझ साढे ६ बजे राष्ट्रपति सीले नेपालका समकक्षी राष्ट्रपति भण्डारीसँग शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भेटवार्ता लगत्तै उहाँ राष्ट्रपति भण्डारीले सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने जनाइएको छ । शनिबारै साँझ राष्ट्रपति “सी” प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिष्टाचार भेट गर्नुहुनेछ ।

आइतबार बिहान साढे १० बजे द्विपक्षीय सम्झौताहरुमा हस्ताक्षर हुने बताइएको छ ।त्यसअघि, चिनियाँ विशिष्ट अतिथि सी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता हुनेछ । राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको समुपस्थितिमा दुईपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यद्यपि, उक्त मन्त्रालयले वार्ताको मिति सार्वजनिक गरेको छैन ।

नेपालको राजकीय भ्रमण पूरा गरी स्वदेश प्रस्थान गर्नुअघि राष्ट्रपति सीसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिष्टाचार भेट गर्ने पनी कार्यक्रम रहेको छ ।करिब १८ घन्टा नेपालमा बिताएर राष्ट्रपति सी आइतबार दिउँसो साढे १२ बजे पछि स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ ।

यो पनी पढ्नुहोस् !

https://bihanionline.com/2019/10/23675/