एमसीसी पारित गराउन अलमल नगरौं- प्रधानमन्त्री ओली

काठमाडौं,माघ,१५-प्रधानमन्त्री केपी ओलीले अमेरिकी मिलेनियम कम्प्याक्ट (एमसीसी) एमसीसी परियोजना संसदबाट पारित गराउन कुनै अलमल गर्न नहुने बताउनु भएको छ ।

बुधबारदेखि काठमाडौंमा शुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस परियोजनामा सार्वभौसत्तामा असर पर्ने गरी सम्झौता नगरिएको प्रष्ट गर्नुभयो ।

यो मुलुकलाई आएको ठूलो सहायता हो भन्दै उहाँले यसबारे धेरै प्रश्न गरिरहनु नपर्ने पनि बताउनुभयो ।यसको अर्को कुनै विषयसँग साँठगाँठ नभएको उहाँले बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘पाँच वर्षमा काम गर्न नसकिए सम्झौता जहाँ पुगेको हो त्यहींबाट सकिन्छ । सम्झौताले त्यही भनेको छ । ४० भन्दा बढी देशमा यसै परियोजनामा काम भइरहेको छ । इण्डो प्यासिफिक रणनीतिसँग यसको कुनै संलग्नता छैन ।

कसैको भित्री के स्वार्थ छ भन्ने खोतल्ने होइन, हाम्रो स्वार्थ अनुसार छ कि छैन हेर्ने हो । हाम्रो लाभ छ कि छैन हेर्ने होइन । अरुको स्वार्थ के छ भनेर पछाडि किन दौडने ? हाम्रो लाभ कहाँ छ त्यो खोज्ने हो । यो सम्झौताले हाम्रो सार्वभौमसत्तामा कुनै असर गर्दैन ।’

एमसीसी पारित गर्न भूमिका नखेलेको आरोप ब्यहोरिरहेका तात्कालीन सभामुख कृष्णबहादुर महरा मन्त्री भएका बेलामा संसदबाट पारित गर्न कुनै अफ्ठ्यारो नहुने भनेर बचन दिएको जिकीर पनि प्रधानमन्त्री ओलीले गर्नुभयो ।