काठमाडौं,जेठ,१७- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएको छ।
प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको अध्यावधिक नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिइएको हो।
कांग्रेसले आफ्ना सांसदहरूलाई संविधान संशोधनको पक्षमा मतदान गर्न निर्देशन दिएको हो। प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन्।
संविधान संशोधनको पक्षमा उभिने यसअघि पदाधिकारी बैठककै बेला संकेत गरे पनि कांग्रेसले केन्द्रीय कार्यसमितिबाट संस्थागत निर्णय गर्ने बताउँदै आएको थियो।
सरकारले अद्यावधिक नक्सासहित निशान छाप परिवर्तन गर्न संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गरेको छ।



