संविधान दोस्रो संशोधन विधेयक संसदबाट पारित, अद्यावधिक नक्सा निशान छापमै

काठमाडौं,जेठ,३१-भारतद्वारा अतिक्रमित नेपाली भू–भाग लिम्पयाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर अद्यावधिक गरिएको नेपालको नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको छ ।

शनिबार बसेको प्रतिनिधिसभाको बैठकले निशान छापमा भारतबाट अतिक्रमित भू–भाग समेटेर अद्यावधिक गरिएको नक्सा परिवर्तन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हो ।

बैठकमा उपस्थित २५८ जना सांसदले विधेयकको पक्षमा मतदान गरेका थिए भने विधेयको विपक्षमा शून्य मत परेकोले संशोधन विधेयक दुईतिहाइभन्दा बढी मतले पास भएको सभामुख अग्नि सापकोटाले घोषणा गर्नुभएको थियो। 

यसअघि, बैठकमा कानुनमन्त्री शिवमाया तुम्बाहाङफेले विधेयकमाथि दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नु भएको थियो ।

दफावार छलफलमा सहभागी सांसदहरुका जिज्ञासाको जवाफ दिँदै कानुनमन्त्री तुम्बाहाङफेले नेपालको इतिहास र संसदीय इतिहासमा गौरवमयपूर्ण दिन भएको बताउनु भएको थियो ।

विधेयकविरुद्ध समाजवादी पार्टीकी सांसद सरिता गिरीले दर्ता गरेको संशोधन विधेयकलाई प्रतिनिधिसभा नियमावलीअनुसार सभामुख सापकोटाले खारेज गर्नु भएको थियो । आफ्नो प्रस्ताव खारेज भएपछि सांसद गिरी भने बैठकबाट बाहिरिएकी थिइन् ।

सरकारले गत जेठ ५ गते नयाँ नक्सा पास गरेको थियो भने ७ गते सार्वजनिक गरेको थियो ।नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न जेठ ९ गते संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भएको थियो ।ईमेजबाट