वरियता विवादले मन्त्रिपरिषदको बैठक फेरि सारियो

काठमाडौं, चैत २४-
उपप्रधानमन्त्रीमा देखिएको वरियता विवाद सुल्झन नसक्दा आज बस्ने नियमति मन्त्रिपरिषद्को बैठक बस्न सकेन। उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री कमल थापा र उपप्रधानमन्त्री विमलेन्द्र निधिबीचको बरिष्ठ भन्ने विवादको टुंगो लगाउन गरिएका प्रयासहरु निष्फल भएपछि बैठक आइतबारसम्मका लागि सारिएको छ।

सरकारका प्रवक्ता सूचना तथा संचारमन्त्री राम कार्कीले आजको बैठक सारिएको स्विकारे। तर उहाँको भनाइ भने मधेसी मोर्चालाई पनि सहमतिमा ल्याउन बैठक सरेको हो भन्ने छ।तीन सातादेखि मन्त्रिपरिषद् बैठक बस्न नसक्दा निर्णयका लागि फाइलको चाङ लागेको छ। सरकारले नियमित रुपमा निर्णय गर्नुपर्ने विषय नै सातामा १५–२० वटा हुन्छन्।

मन्त्रिपरिषद्को बैठक प्रभावित हुनुको अर्को कारण भने प्रहरी महानिरीक्षक नियुक्तिमा अन्योल हुनु पनि हो।२६ फागुनमा राप्रपा अध्यक्ष समेत रहेका थापाले उपप्रधानमन्त्रीको सपथ लिएपछि अहिलेसम्म निधि र थापाको वरीयताक्रमको विवाद कायमै छ।उपप्रधानमन्त्री बीचको वरियता विवादले लामो समयदेखि मन्त्रिपरिषद बैठक बस्न सकेको छैन भने चीन भ्रमणमा जाँदा प्रधानमन्त्री दाहालले कार्यवहाक प्रम तोक्न सकेका थिएनन्।

गृहमन्त्री निधिका प्रेस संयोजक रामजी दाहालका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री दाहाललाई भेटेर वरियताक्रममा आफूलाई पछि पारिए मान्य नहुने चेतावनी दिइसक्नु भएको छ। मन्त्री निधिले प्रथम उपप्रधान मन्त्रीलाई आफ्नो प्रतिष्ठाको विषय बनाएको हुनाले पनि समस्या लम्बिएको हो। देउवाले प्रधानमन्त्री दाहाललाई जसलाई प्रथम उपप्रधानमन्त्री बनाएपनि आफूलाई मान्य हुने तर प्रहरी प्रमुखमा भने जयबहादुर चन्द नै हुनुपर्ने अडान राखेको प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्यले जानकारी दिनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयको वेबसाइट ओपीएमसीएम डट एनपीमा भने प्रधानमन्त्रीपछि निधि नै वरियतामा दोस्रो सूचिमा रहनु भएको छ। त्यसपछि माओवादी नेता महराहुनुहुन्छ,भने थापा तेस्रो नम्बरमा रहनु भएको छ । सर्वोच्चको फैसला आएपछि मन्त्रिपरिषद्को बैठक अहिलेसम्म बसेको छैन। अब बस्ने मन्त्रिपरिषद्को बैठकबाट आईजीपीको नियुक्ति विवाद र वरीयता दुवै टुंगो लगाउने प्रधानमन्त्री दाहालले बताउदै आउनु भएको थियो ।

मन्त्रिपरिषद्मा वरियता मापन गर्ने दुईवटा विधि छन्। को पहिला उपप्रधानमन्त्री भएको हो भन्ने आधारमा र ठूलो पार्टीको तर्फबाट सरकारमा नेतृत्व गरेको आधारमा। पहिला उपप्रधानमन्त्री भएको आधारमा तीन अर्थमन्त्री समेत रहनु भएका कृष्णबहादुर महरा सबैभन्दा बरिष्ठ उपप्रधानमन्त्री हुन तर महराले आफैले निधिलाई आफूभन्दा बरिष्ठ उपप्रम स्वीकार गरेर बाटो सजिलो पार्नु भएको थियो । साभा नेपाल खबरबाट