युएईमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन ढिलाइ

तय भइसकेको चार्टर्ड उडान पनि रद्द

काठमाडौं,आषाढ,२-संयुक्त अरब इमिरेट्स (युएई)मा समस्यामा परेका नेपालीको उद्धारका लागि आज(मंगलबार) र बिहीबार हुने भनिएको चार्टर्ड उडान रद्ध भएको छ ।आबुधाबीस्थित नेपाली दूतावासले सोमबार सूचना जारी गर्दै असार २ र ४ गतेको उडान स्थगित भएको जानकारी दिएको हो ।

युएईमा समस्यामा परेका नेपालीलाई आज र पर्सी नेपाल एयरलाइन्स मार्फत स्वदेश फर्काउने तयारी भएको थियो ।दूतावासले जारी गरेको सूचनामा प्राविधिक कारणले उडान स्थगन भएको उल्लेख छ ।

उडान रद्धबारेको सूचना आइतबारै दूतावासले आफ्नो आधिकारीक फेसबुक पेजमार्फत सार्वजनिक गरेको थियो ।तर उक्त सूचना तत्काल हटाएर हिजो फेरि अर्को सूचना जारी गर्दै उडान स्थगन भएको जनाउ दिएको हो ।अर्को उडान कहिले हुन्छ भन्नेबारेमा केही खुलाइएको छैन ।