‘इनफ इज इनफ’का युवा प्रहरीको नियन्त्रणमा

काठमाडौं,साउन,१७-‘इनफ इज इनफ’ अभियानमा रहेका केही युवाहरुलाई प्रहरीले शनिबार पनि नियन्त्रणमा लिएको छ ।

सरकारको विरोध गर्न बालुवाटार जानेक्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

यसअघि, शुक्रबार पनि निषेधित क्षेत्र तोड्दै सरकारको विरोधमा प्रदर्शन गर्न पुगेका युवाहरुलाई टंगालस्थित भाटभटेनी मन्दिरबाट नियन्त्रणमा लिएको थियो ।प्रहरीले बालुवाटार आसपास क्षेत्रमा धर्ना, जुलुस गर्न निषेध गरेको छ ।

केही महिनादेखि स्वतःस्फूर्त अभियानमा जोडिएका उनीहरुले ‘पीसीआर’ परीक्षणको दायरा बढाउनुपर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, ललिता निवास जग्गा प्रक्ररणमा जोडिएकालाई कारबाही गर्नुपर्नेलगायतका माग राख्दै अनशनसहित सडक प्रदर्शन गर्दै आएका छन् ।

गएको असारमा सरकार र युवाहरुबीच १२ बुँदे सहमति भएपनि माग सम्बोधन नभएको भन्दै प्रदर्शनलाई निरन्तरता दिएका हुन् ।