विदेशबाट हुने उद्धार उडान अनिश्चितकालका लागि स्थगित

काठमाडौँ,साउन,२-सरकारले विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि तय भइसकेका चार्टर्ड उडान स्थगित गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) को आग्रहमा चार्टर्ड उडान स्थगन गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले जनाएको छ ।

उद्धार गरिएकालाई राख्न होटल व्यवस्थापन नभएको भन्दै सीसीएमसीले मन्त्रालयलाई उद्धार उडान स्थगित गर्न भनेको थियो ।

कोरोना संक्रमण जारी रहेको, विभिन्न स्थानीय तहले निषेधित क्षेत्र घोषणा गर्ने क्रम बढेको र क्वारेन्टाइनका लागि होटल व्यवस्था भएको जानकारी नआएको सीसीएमसीले पत्रमा उल्लेख गरेको छ ।

दूतावासहरुले समेत उडान स्थगन भएको सूचना निकालेका छन् । अहिले पनि करिब ८० हजारभन्दा बढी नेपाली विदेशमा उद्धारको प्रतिक्षामा रहेको दूतावासहरुको तथ्यांक छ ।