हमासले गर्यो दुई दिनमा ४१ बन्धक रिहा, नेपालका विपिन जोशीलाई अझै छाडेन

काठमाडौं,मंसिर,१०-हमास लडाकु समुहले पछिल्लो दुई दिनमा ४१ जना बन्धक रिहा गरेको छ।

इजरायल र हमासबिचको चार दिने युद्धविराम सुरु भएसँगै हमासले बन्धक रिहा गरेको हो।बदलामा इजरायलले पनि आफ्नो देशका कारागारमा रहेका प्यालेस्टाइनी बन्दीहरु छाडेको छ।

अमेरिकी समाचार संस्था सि.एन.एन.का अनुसार हमास लडाकुले शनिबार १३ जना इजरायली तथा चार जना थाइ नागरिकलाई रिहा गरेको छ।

शुक्रवार हमासले १३ जना इजरायली, १० जना थाई तथा एक जना फिलिपिनी बन्धकलाई छाडेको थियो।दुई दिनमा हमासले २६ इजरायली, १४ थाई तथा एक जना फिलिपिनोलाई रिहा गरेको छ।

इजरायलले पनि दुई चरणमा ७८ जना प्यालेस्टाइनी बन्धकलाई रिहा गरेको छ।इजिप्ट र कतारको मध्यस्थतामा भएको समझौता अनुसार हमास लडाकुले चार दिनमा ५० इजरायली बन्धकलाई छाड्नेछ भने इजरायलले पनि १ सय ५० प्यालेस्टाइनी कैदीबन्दीलाई रिहा गर्नेछ।

यसबाहेक थाइल्याण्ड सरकारले पनि कतार र इजिप्टको सहयोगमा हमाससँग अलग्गै वार्ता गरेर आफ्ना नागरिकहरुलाई रिहा गराइरहेको छ।

गत अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गरेको हमासले १२ सय इजरायली नागरिकको हत्या गरेको थियो भने विभिन्न देशका २ सय ४० नागरिकलाई बन्धक बनाएको थियो। त्यसपछि गाजा क्षेत्रमा इजरायलले लगातार आक्रमण गर्दा १४ हजार ५ सयभन्दा बढीको मृत्यु भइसकेको छ।

यसैबिच : हमासको नियन्त्रण रहेका नेपालका विपिन जोशी लाई अझै रिहा गरेको छैन।नेपालको कञ्चनपुरका विपिन जोशीलाई पनि बन्धक बनाएको बताइएको छ । तर उनी रिहा हुने/नहुने अझै थाहा हुन सकेको छैन।यद्यपि परराष्ट्र मन्त्रालय र तेल अविवस्थित नेपाली दूतावासका अधिकारीहरुले जोशीको रिहाइका लागि कूटनीतिक पहल जारी राखेको जनाएका छन्।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले विपिन जोशीको रिहाइका लागि सरकारले पहल जारी राखेको बताइन् । ‘सरकारले पूरै क्षमताका साथ कोसिस गरिरहेको छ, तर अहिलेसम्म नयाँ खबर केही आएको छैन,’ उहाँले भन्नुभयो, ‘हामी सुखद समाचारको प्रतीक्षामा छौं ।’

सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत विपिन सहितका ४९ विद्यार्थीहरु ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए। गत असोज २० गते किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने कञ्चनपुरको भीमदत्त नगरपालिका-३ का जोशी सम्पर्कविहीन भएका थिए।