काठमाडौं,मंसिर,१७-गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यादेश जारी गरेर भए पनि राष्ट्रिय भूमि आयोगको काम सफल बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
चितवनको नारायणगढमा भएको राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको छैटौँ राष्ट्रिय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले राष्ट्रिय भूमि आयोगको कामलाई हरहालतमा सफल पारेर भूमिहीन किसानलाई जग्गा प्रदान गर्ने बताउनुभयो।
गृहमन्त्री श्रेष्ठलेले सङ्कल्प र प्रतिबद्घता गरेर मात्रै नभई यसमा देखिएका समस्याको समाधानका लागि कानुन संशोधन गरेर भए पनि भूमिहीन किसानको समस्या समाधान गरिछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
राष्ट्रिय भूमि अधिकार मञ्च नेपालका कार्यवाहक अध्यक्ष मेघबहादुर बिसीको अध्यक्षतामा भएको सम्मेलनको उद्घाटनसत्रमा विभिन्न राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाले धारणा राखेका थिए।भोलि मञ्चको नयाँ नेतृत्व चयन गरी सम्मेलन सम्पन्न हुने छ।