बायर्न म्युनिख च्याम्पियन्स लिगको फाईनलमा

आईतबार फाईनल खेल पीएसजी सँग प्रतिस्पर्धा गर्ने

फाईल तस्विर !!

एजेन्सी,भाद्र,४-जर्मन च्याम्पियन बायर्न म्युनिखले फ्रान्सेली क्लब लियोनमाथि जित दर्ता गर्दै यूईएफए च्याम्पियन्स लिगको फाइनलमा स्थान पक्का गरेको छ ।

लिस्बनमा बुधबार बायर्नको ३-० को जितमा सर्ज जिनाब्रिले २ तथा रोबर्ट लेवान्डोस्कीले १ गोल गरे । पहिलो हाफमा नै जिनाब्रीले दुवै गोल गरेका थिए । यस जितसँगै बायर्नले अब उपाधि भिडन्तका लागि आइतबार फाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग प्रतिस्पर्धा गर्नेछ । पीएसजीले मंगलबारको खेलमा आरबी लाइप्जिगमाथि ३-० को जित दर्ता गरेको थियो ।

खेलमा लियोनले उत्कृष्ट सुरुवात गर्दै बायर्नलाई दबाबमा राखेपनि अवसर सदुपयोग गर्न सकेन । कप्तान मेम्फिस डिपाए र तोको एकाम्बीले पेनाल्टी क्षेत्रभित्र पाएको अवसरलाई गोलमा परिणत गर्न नसक्दा बायर्नले खेलमा पकड जमाउने अवसर पायो । बायर्नले पहिलो अवसरमा नै सर्ज जिनाब्रीको गोलमा अग्रता लिएपछि दबाब कायम गर्यो ।

खेलको चौथो मिनेटमा नै लियोनले अग्रता लिने सुवर्ण अवसर गुमायो । म्याक्सेन्स काकरेटको थ्रु पासमा अफसाइड ट्रयाप बिट गरेर बलसहित अगाडि बढेका लियोनका कप्तान मेम्फिस डिपाएले बललाई पोस्टको दिशा दिन सकेनन् । नोएर अगाडि बढेपनि डिपाएले बललाई पेनाल्टी क्षेत्र नजिकसम्म पुर्याएर बाहिर प्रहार गरेका थिए ।

१२ औं मिनेटमा लिओन गोरेट्जकाले पेनाल्टी क्षेत्रबाहिर लेवान्डोस्कीसँग उत्कृष्ट वन टु पास खेल्दै बनाएको मुभमा गोरेट्जकाको अन्तिम प्रहारलाई गोलरक्षक लोपेसले बचाए । लगत्तै अर्कोतर्फ डिपाएको प्रहारले पोस्टको दिशा लिन सकेन । खेलको १७ औं मिनेटमा लियोनको अग्रता लिने अवसरमा पोस्ट बाधक बन्यो । तोको एकाम्बीले पेनाल्टी क्षेत्र भित्रबाट गरेको शक्तिशाली प्रहारले गोलरक्षक म्यानुएल नोएरसमेत बिट भएपनि पोस्टमा लाग्दै बल फर्कियो ।

२५ औं मिनेटमा जिनाब्रीले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक एन्थोनी लोपेसले विफल पारे । ३० औं मिनेटमा लेवान्डोस्की र इभान पेरिसिचले वन टु पास खेल्दै सिर्जना गरेको अवसरमा गोलरक्षक लोपेस बाधक बने । लेवान्डोस्कीको अन्तिम प्रहारलाई लोपेसले अगाडि बढेर छेकेका थिए ।

जिनाब्रीले ३३ औं मिनेटमा गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । पेरिसिचको क्रसमा लेवान्डोस्कीको प्रहारलाई गोलरक्षक लोपेसले विफल पारेपनि जिनाब्रीले रिबाउन्डलाई ६ यार्ड बक्स भित्रबाट गोल गरेका थिए । ३८ औं मिनेटमा जिनाब्रीकै क्रसमा गोलरक्षक लोपेस बिट भएपनि लेवान्डोस्कीले बलसम्म पुग्न नसक्दा अग्रता बढाउन सकेनन् ।

दोस्रो हाफको ५१ औं मिनेटमा पेरिसिचले वन भर्सेस वनको स्थितिमा गरेको प्रहारलाई गोलरक्षक लोपेसले बचाए । ५५ औं मिनेटमा लियोनका मेम्फिस डिपाएको प्रहारलाई दोस्रो हामफा मैदान छिरेका डिफेन्डर निकलस सुलले छेके । लियोनले गोल फर्काउने आशामा कप्तान डिपाएको स्थानमा अघिल्लो खेलमा २ गोल गरेका मौसा डेम्बेलेलाई मैदान प्रवेश गरायो ।