स्पेनिस क्लब बार्सिलोनाको मुख्य प्रशिक्षकमा रोनाल्ड कोम्यानलाई नियुक्त

फाईल तस्विर !!

एजेन्सी,भाद्र,३-स्पेनिस क्लब बार्सिलोनाले टिमको मुख्य प्रशिक्षकमा रोनाल्ड कोम्यानलाई नियुक्त गरेको छ ।बार्सिलोनाले बुधबार नेदरल्यान्ड्सका प्रशिक्षक कोम्यानलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।

डच टिमको मुख्य प्रशिक्षक समेत रहेका कोम्यानले बार्सिलोनासँग दुई वर्षको सम्झौता गरेका छन् ।५७ वर्षीय कोम्यान बार्सिलोनाका पूर्व डिफेन्डर समेत हुन् । उनले क्याटलान क्लबबाट सन् १९८९ देखि १९९५ सम्म खेलेका थिए । 

कोम्यानले बार्सिलोनालाई चार लिग उपाधि र एक युरोपियन कप जिताउन महत्वपूर्ण भुमिका खेलेका थिए । ६ सिजन क्लबमा रहदा उनले २ सय ५४ खेलमा ८३ गोल गरेका थिए । 

08D -

बार्सिलोनाले मुख्य प्रशिक्षक क्वेक सेटिनलाई बर्खास्त गरेको दुई दिन पछि कोम्यानलाई टिम हेर्ने जिम्मेवारी दिएको हो ।

बार्सिलोनाले सोमबार सेटिनलाई बर्खास्त गरेको थियो ।पोर्चुगलको लिस्बनमा गत शुक्रबार राति बार्सिलोना बायर्नसँग ८-२ गोल अन्तरले पराजित भएको थियो ।

बार्सिलोनाले गत जनवरीमा सेटिनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।अर्नेस्टो भालभर्डे बर्खास्त गर्दै बार्सिलोनाले ६१ वर्षीय सेटिनलाई टिमको जिम्मेवारी दिएको थियो ।

तर, बार्सिलोनाले खराब प्रदर्शन गरेपछि सेटिन ७ महिनामै बर्खास्तमा परेका हुन् ।सेटिनको नेतृत्वमा बार्सिलोनाले यस सिजन ला लिगाको उपाधि समेत जित्न असफल भएको थियो ।

सेटिनको नेतृत्वमा बार्सिलोनाले २५ खेल खेलेको छ । जसमा १६ जित, पाँच हार र ४ बराबरी रहेको छ ।