दशैँको अवसरमा ‘बिगो डान्स च्याम्प’ हुँदै, प्रथमलाई नगद ५० हजारदेखि फिल्म खेल्ने अवसर

फाईल तस्विर !!

काठमाडौँ,असोज,१७-नेपालीहरुको महान पर्व वडा दशैँको अवसरमा ‘बिगो डान्स च्याम्प-२०२०’ हुने भएको छ ।

किङ ग्रुपको पहिलो प्रस्तुतीको रुपमा यस वर्षको वडा दशैँको पावन अवसरमा बिगो लाइभ नृत्य प्रतियोगिता ‘विगो डान्स च्याम्प–२०२०’ आयोजना हुन लागेको हो ।बिगो एपमार्फत लाइभ गरिने उक्त प्रतियोगितामा निःशुल्क सहभागि हुन सकिनेछ ।

असोज २० (अक्टोबर ६ तारिक) गतेसम्म आवेदनका लागि मोवाइल नम्वर ९८४१३११५१० मा सम्पर्क गरिसक्नु पर्नेछ । विश्वका कुनै पनि गीत, संगीतमा प्रस्तुती दिन सकिने र विश्वका सबै देशबाट सहभागि हुन पाउने प्रावधान रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितालाई ३ चरणमा विभाजन गरिएको छ । असोज २१ (अक्टोबर ७ तारिक)  गतेदेखि अडिसन राउण्ड सुरु हुनेछ । अडिसन राउण्डबाट सेमिफाइनलका लागि २१ जना छनोट हुनेछन् ।

सो पश्चात फाइनलका लागि १० प्रतियोगि छनोट गरि कात्तिक ५ (अक्टोबर २१ तारिक)  गतेसम्म ग्राण्ड फिनाले हुने जनाइएको छ ।
प्रतियोगितालाई नेपाल समय अनुसार दिउसो ३ देखि ५ बजेसम्म विगो मार्फत लाईभ प्रशारण गरिनेछ ।

विजयी प्रथम, द्धितीय र तृतीयलाई क्रमश नगद ५० हजार, ३० हजार र २० हजार सहित ट्रफी प्रदान गरिनुको साथै उत्कृष्ट १ जनालाई बिग ब्यानर फिल्ममा अभिनय गर्ने अवसर समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

वरिष्ट कोरियोग्राफर महेश गोदार, चलचित्र निर्देशक मुस्कान ढकाल र मोडल तथा नृत्य निर्देशक बिनु शाक्य प्रतियोगिताको निर्णायक भुमिकामा रहेका छन् भने इन्टरट्रेनरमा सुलेमान शंकर ‘इकु’ छन् भने कार्यक्रमलाई सिमोन न्यौपानेले सञ्चालन गर्दैछन् ।

कोरोना कहरको समयमा पनि नृत्य कलामा रुची तथा क्षमता भएका व्यक्तिहरुको हौशला एवं अवसरका लागि बिगो डान्स च्याम्प-२०२० को आयोजना गर्न लागिएको आयोजक संस्था किङ ग्रुपले जनाएको छ ।