आज तराईमा धुमधामसंग होली पर्व मनाईदै

तराईमा आज होली विदा !!

काठमाडौं,फागुन,२३-होली पर्व अर्थात (फागु पुर्णीमा)काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा हिजो मनाइए पनि तराईका जिल्लामा भने आज मंगलवार धूमधामका साथ मनाईदै छ।

वसन्त ऋतुको आगमनको शुरुवातमा पर्ने फागु पर्व एक-आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एकार्कामा रंग दलेर मनाउने गरिन्छ ।

तराई-मधेशका बस्तीहरु आज होलीले रंगीचङ्गी भएका छन् । काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका बासिन्दाले पनि आपसमा रंग र अबिर लगाएर आज होली पर्व मनाउँदैछन्।परम्परागत रूपमा विभिन्न रङ खेली होली अर्थात फागु पर्व मनाउने चलन छ।

होलीले आपसी सद्भाव, भातृत्व र आत्मीयता बढाउन सहयोग पुर्याउँछ।होलीका अवसरमा विभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रम गरेर खुसी साटासाट गर्ने गरिन्छ।सरकारले होली पर्वकै अवसरमा आज तराईका जिल्लाहरुमा बिदा दिएको छ।

सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्न हिरण्यकश्यपुले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ।असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ ।