कोरोना संक्रमणबाट एकैदिन २१ जनाको मृत्यु: संक्रमितको संख्या १ लाख २६ हजार नाघ्यो

काठमाडौं,असोज,३०-नेपालमा शुक्रवार थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शुक्रवारसम्ममा सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ जना रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८८ हजार ४०जना पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप २१ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ।योसँगै कोरोना संक्रमणबाट ७१५ जनाको मृत्यु पुष्टि भएको छ ।

हाल मुलुकका विभिन्न भागमा रहेका क्वारेन्टाइनमा ४ हजार ८०८ जना रहेका छन्।विगत २४ घण्टामा ३ हजार ५२२ जना कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् । 

मन्त्रालयका अनुसार मुलुकका विभिन्न भागमा रहेका आईसोलेशनमा ३७ हजार ३८२ जना रहेका छन् । मन्त्रालयका अनुसार हाल संस्थागत आईसोलेशनमा १२ हजार ३३६ जना र होम आईसोलेशनमा २५ हजार ४६ जना रहेका छन् । त्यस्तै हालसम्म १२ लाख ५४ हजार १६७ ओटा पीसीआर परीक्षण भइसकेको छ । गत २४ घण्टामा १६ हजार ५३१ ओटा पीसीआर परीक्षण भएको छ ।

विगत २४ घण्टामा थपिएका संक्रमितमध्ये २ हजार ४०२ जना मात्रै काठमाडौं उपत्यकाका रहेका छन् । प्रवक्ता गौतमका अनुसार विगत २४ घण्टामा काठमाडौं  जिल्लाका १ हजार ७८४ जना, ललितपुर जिल्लाका ३७४ जना र भक्तपुर जिल्लाका २४४ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।