
काठमाडौं,फागुन,१८-सरकारले विप्लव नेतृत्वको भूमिगत समूहसँग वार्ता गर्न टोली गठन गरेको छ।
मंगलबार सञ्चारमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको जानकारी दिनुभयो ।
वार्ता टोलीमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई रहेका छन् ।
पत्रकार सम्मेलनमा मन्त्री गुरुङले चाँडै विप्लव पक्षको वार्ता टोली पनि सार्वजनिक हुने र छलफल अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । शान्तिपूर्ण नेपालको परिकल्पना गर्दै सरकार सबै द्वन्द्वरत पक्षहरूलाई वार्तामा ल्याउन दृढ रहेको उहाँको भनाइ छ ।
सबै समस्याको समाधानपछि वार्ताको कुनै आौचित्य नहुने भएकाले विल्लव समूहमाथि लागेको मुद्दा, प्रतिबन्ध र उनीहरूसँग भएका हतियारको विषयमा पनि वार्ताद्वारा नै छलफल गरेर समस्या साधान गरिने मन्त्री गुरुङले बताउनुभयो ।
उता विप्लव समूहले भने आफ्ना नेता तथा कार्यकर्ता विनाशर्त रिहाइ नगरी र प्रतिबन्ध नहटाइ वार्ता नहुने विज्ञप्तिमार्फत जनाउँदै आएको छ ।
हिंसात्मक तथा आतंककारी गतिबिधि गरेको भनी सरकारले २०७५ फागुन अन्तिम साता विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो।
