सरकारले फेरी ५० लाख डोज कोभिडविरुद्धको खोप किन्ने

फाईल तस्विर !!

काठमाडौं,फागुन,१८-सरकारले थप ५० लाख डोज कोभिड–१९ विरुद्धको खोप खरिदको प्रक्रिया सुरु गरेको जनाएको छ ।

मंगलबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा कोभिड खोप अभियानको सम्बन्धमा भएको छलफलमा सचिव अर्यालले सरकारले थप ५० लाख डोज खोप किन्नको लागि प्रक्रिया सुरु गरेको जानकारी दिनुभयो ।

हाल मन्त्रालयसँग रहेको खोप र बाँकी १ करोड १० लाख डोज खोप जम्मा गरी अर्को चरणको खोप अभियान सञ्चालन गरिने अर्यालले जानकारी दिनुभयो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्र रमन सिंहले ३ लाख डोज खोप यहि हप्ताभित्र आउने र थप १० लाख खोप १५ दिनभित्र आउने जानकारी दिनुभयो । तर, एकैचोटी करोडको संख्यामा खोप आएमा राख्ने ठाउँको अभाव हुन सक्ने उहाँको भनाइ थियो ।

स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले कोभिड विरुद्धको खोपका कारण गम्भीर प्रकृतिका असरहरू देखा नपरेको जानकारी दिनुभयो । उहाँले खोप स्तनपान गराइरहेका आमाहरूलाई पनि दिन मिल्ने बताउनुभयो ।

१८ वर्ष मुनिका बालबालिकाको उमेर समूहमा अध्ययन भएर तथ्यांक नआएको हुनाले खोप नदिइने डा. गौतमको भनाइ रहेको छ ।