संघीय शिक्षा ऐन जारी गर्ने विषयमा सरकार गम्भीर छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,पुष,२३-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकारले संघीय शिक्षा ऐन जारी गर्ने विषयलाई आफ्नो प्राथमिकतामा राखेको बताउनुभएको छ ।

शनिबार बिहान काठमाडौंको महेन्द्र माविमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संघीय शिक्षा ऐन जारी गर्ने विषयमा सरकार गम्भीर रहेको बताउनुभएको हो ।

अघिल्लो सरकारको कार्यकालमा पनि संघीय शिक्षा ऐनका केही काम भएका तर, ऐन जारी हुन नसकेको भन्दै उहाँले यसपटक संघीय शिक्षा ऐन ल्याउने कुरा सरकारको प्राथमिकतामा राखेको बताउनुभयो ।

ऐन जारी गरेपछि शिक्षा क्षेत्र र शिक्षकहरूसँग सम्बन्धित अधिकांश समस्या सम्बोधन हुने उहाँको भनाई छ । देशको राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणमा शिक्षकहरूको अहम् भूमिका भएको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

एक अर्को प्रसंगमा प्रधानमन्त्री दाहालले आफ्नो तेस्रो कार्यकाललाई चुनौतीपूर्ण अवसरका रूपमा लिएको बताउनुभयो । तेस्रो कार्यकाल आफ्नो निम्ति चुनौतीपूर्ण अवसर भएको र यसलाई पूराका पूरा सदुपयोग गर्न प्रयास गर्ने भन्दै प्रधानमन्त्री दाहालले एउटा पनि नराम्रो काम नगर्ने र गर्न नदिनेमा सचेत रहेको दाबी गर्नुभयो ।ईमेजखबरबाट