एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै दलहरु आन्तरिक छलफलमा

काठमाडौं,फाल्गुन,२५-सर्वोच्च अदालतका फैसलाले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी केन्द्र ब्युँतिएसँगै दलहरु आन्तरिक छलफलमा जुटेका छन् ।

नयाँ परिस्थित आएसँगै दुवै दलका नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् । एकतापूर्वकै अवस्थामा नेकपा एमाले बनिसकेपछि अब कसरी अघि बढ्ने भन्नेबारे दलहरुले आन्तरिक, औपचारिक, अनौपचारिकलगायत विभिन्न चरणमा छलफल थालेका हुन् ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच लामो समयदेखिको संघर्ष चल्दै आएकाले एमालेभित्रको विवाद तत्काल समाधान हुन सक्ने अवस्था छैन ।

सर्वोच्चको फैसलाअघि नेकपामा रहँदा ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही गर्दै नेता नेपाल नेकपाको अध्यक्ष बन्नुभएको थियो ।

यस्तै अबको रणनीतिबारे माओवादी केन्द्रका नेताहरु पनि छलफलमा जुटेका छन्।यता भावी सत्ता समीकरणबारे नेपाली कांग्रेसले पनि आन्तरिक छलफल गरिरहेको छ ।

यसअघि नेकपा फुटिनसकेको अवस्थामा कुनै एउटा समूहलाई मात्रै समर्थन गरेर अघि नबढ्ने बताएको कांग्रेसलाई अब भने कुन समूहलाई सहयोग गरेर अघि बढ्ने भन्ने बाटो खुलेको छ ।

तर, कांग्रेसका केही नेताहरुले अहिले नै सरकारमा जान नहुने र चुनावमा जानुपर्ने भन्न थालेका छन् । यस्तै जनता समाजवादी पार्टीको संसदीय दलको बैठक बस्दै छ ।