बुधबारको संसद् बैठकमा पनि एमाले र माओवादी केन्द्र सँगै बस्ने

काठमाडौं,फाल्गुन,२५-सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ब्यूँताइदिएपछि बस्ने प्रनिनिधिसभाको पहिलो बैठकमा दुवै दल सँगै बस्ने भएका छन् । बुधबार निर्वाचन आयोगले संसद् सचिवालयमा दुई दल अलग्गिएको पत्र पठाएपछि पनि दुवै दल सँगै बस्ने भएका हुन् ।

नेकपा (माओवादी केन्द्र)ले नेकपा (एमाले)को नेतृत्वमा बनेको सरकारको समर्थन फिर्ता नगरेको अवस्थामा दुवै दलका सांसद्हरु सँगै बस्ने संसद् सचिवालयका प्रवक्ता एवं सह-सचिव रोजनाथ पाण्डेले जानकारी दिनुभयो । ‘हामीले दल विशेषका लागि भनेर सिट छुट्याउँदैनौं,’ उहाँले भन्नुभयो, ‘सत्तापक्ष र प्रतिपक्ष भनेर छुट्याइने सिटमा अहिलेसम्म माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नदिएकाले उहाँहरु सत्तापक्षकै सिटमा बस्नुहुन्छ ।’

सत्तापक्षकै सिटमा बसे पनि दुई दलहरू दुई खण्डमा बस्नसक्ने प्रवक्ता पाण्डेको अनुमान छ । अहिले संसद् भवनमा दुई खण्ड सत्तापक्षलाई भनेर छुट्याइएको छ । त्यसमध्ये एक खण्डमा एमालेका सांसद् र अर्को खण्डमा माओवादी केन्द्रका सांसद् रहनसक्ने उहाँको भनाइ छ । यसअघि फरक फरक दलका सांसद्हरु फरक–फरक खण्मा रहेको अभ्यास छ ।